Kathmandu Press

पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापकबाटै उपकुलपति नियुक्त गर्न माग

पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापकबाटै उपकुलपति नियुक्त गर्न माग

विराटनगर, फागुन १८: पूर्वाञ्चल विश्वविद्यालय (पूविवि)को उपकुलपतिमा कार्यरत प्राध्यापकलाई काम गर्ने अवसर दिनुपर्ने भन्दै पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले त्यहीँ कार्यरत प्राध्यापकलाई नै विश्वविद्यालयको नेतृत्व गर्न दिनुपर्ने माग गरेको छ । 

संघले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाललाई 'ध्यानाकर्षण पत्र' दिँदै यस्तो माग गरेको हो ।

‘यसअघि उपकुलपतिका रुपमा आएका पर्यटकरुपी बाह्य व्यक्तिहरुले विश्वविद्यालय तहसनहस पारेका छन्’ संघका अध्यक्ष यज्ञप्रसाद जमरकट्टेल र महासचिव प्रमोदकुमार यादवद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ । 

Hardik ivf

विश्वविद्यालय भित्रकै प्राध्यापकहरु नेतृत्वका लागि सक्षम रहेको भन्दै पूविवि भित्रका प्राध्यापकहरुबाट उपकुलपति नियुक्त गनुपर्नेमा संघले जोड दिएको छ । 

ध्यानकर्षणपत्रमा भनिएको छ– ‘पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरू नै विश्वविद्यालयको नेतृत्व गर्न सक्षम रहेको र वर्तमान तथा तत्कालीन अवस्थामा पर्यटकरूपी बाह्य व्यक्तिहरूले तहसनहस पारेको यो विश्वविद्यालयलाई प्राज्ञिक विशिष्टताको रूपमा विकास गर्न विश्वविद्यालयमा कार्यरत सक्षम प्राध्यापकहरू मध्येबाट रिक्त हुन गइरहेको उपकुलपति पदमा नियुक्त गर्न विनम्र अनुरोध गर्दछ ।’

हालका उपकुलपति प्रा. डा. यादवराज कोइरालाको आज (शुक्रबार) कार्यकाल सकिँदै छ । उक्त पदमा नेपाल सरकारद्वारा खुला प्रतिस्पर्धाबाट गरिएको उपकुलपति छनोट प्रक्रियाका लागि गरिएको आह्वानमा १८ जनाले आवेदन दिएका छन् । 

विश्वविद्यालय भन्दा बाहिरका प्राध्यापकहरूलाई उपकुलपतिमा नियुक्ति हुँदा पूर्णकालीन रूपमा विश्वविद्यालयमा समय नदिने, बारम्बार भ्रमणमा गई विश्वविद्यालयको प्राज्ञिक विशिष्टता हासिल गर्ने दिशामा कुनै काम नगर्ने गरेको संघको भनाइ छ ।

यसैगरी, छोटो समय विश्वविद्यालयमा बस्ने र अनावश्यक छलफलमा समय व्यतीत गर्ने, ऐन तथा विनियमको साथै विश्वविद्यालय सभा समेतलाई पाखा लगाई पहुँचको आधारमा आफ्नालाई खुसी पार्न संकाय तथा क्याम्पस टुक्रयाई पदाधिकारी नियुक्ति गरी विश्वविद्यालयकाको अनावश्यक खर्च बढाउने गरेको पनि संघले उल्लेख गरेको छ ।

यसअघि छोटो कार्यकालका लागि उपकलुपतिनियुक्त भएका विश्वविद्यालयकै केही प्राध्यापकरुले राम्रो काम गरेको भन्दै संघले कार्यरत प्राध्यापकहरूलाई विश्वविद्यालयको नेतृत्व दिंदा लिएर कुशलतापूर्वक विश्वविद्यालय सञ्चालन गर्ने संघको भनाइ छ ।

प्रकाशित मिति: ११:१३ बजे, शुक्रबार, फागुन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्