त्रिवि उपकुलपति छनाेट निष्पक्ष ढंगले भएको मन्त्री राईकाे दाबी
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री राईले आफू नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले मेरिटोक्रेसीका आधारमा निष्पक्ष ढंगले तीन जनाको नाम छनेट गरेर सिफारिस गरिएको बताएका हुन्।
काठमाडाैं, फागुन १७ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनाेट निष्पक्ष ढंगले भएको दाबी गरेका छन्।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री राईले आफू नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले मेरिटोक्रेसीका आधारमा निष्पक्ष ढंगले तीन जनाको नाम छनेट गरेर सिफारिस गरिएको बताएका हुन्।
सिफारिस गरिएका तीन जनामध्ये एक जनालाई छान्ने अधिकार कुलपतिलाई भएकाले कुलपति एवं प्रधानमन्त्री प्रचण्डले एक जनालाई उपकुलपतिमा नियुक्त गर्नुभएको उनको भनाइ छ। उनले कुलपतिले गरेको नियुक्तिको निर्णय कानुनसम्मत रहेको बताए। मन्त्री राईले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न सवै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने धारणा राखे।
त्यसअघि बैठकमा समिति सदस्य विद्या भट्टराईले प्रधानमन्त्रीले मेरिटोक्रेसीका उपकुलपति नियुक्त गर्ने भनिएपनि हस्तक्षेप भएको जिकिर गरे। उनले सिफारिस समितिले सिफारिस गरेको व्यक्तिमध्ये पहिलो नम्बरकोलाई छाडेर दोश्रोलाई उपकुलपति नियुक्त गर्नु मेरिटोक्रेसी विपरीत भएको तर्क गरिन्। विश्वबिद्यालयको स्वायत्तामाथि हस्तक्षेप भएको र प्राज्ञिक मर्यादा कायम हुन नसकेको उहाले बताए।
समिति सभापति भानुभक्त जोशीले विश्वविद्यालयमा हुने उपकुलपति नियुक्तिलाई पारदर्शी र विवादसहित बनाउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराए।