दक्षिण-पूर्वी एसिया क्षेत्रमा बढ्दै कोरोनाको प्रभाव
काठमाडौं, चैत ५ : दक्षिण पूर्वी एसियामा पनि कोरोना भाइरस महामारीको रुपमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसबाट बच्न आवश्यक उपायहरू अ....

काठमाडौं, चैत ५ : दक्षिण पूर्वी एसियामा पनि कोरोना भाइरस महामारीको रुपमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसबाट बच्न आवश्यक उपायहरू अपनाउन आग्रह गरेको छ।
अहिले यही क्षेत्रमा कोरोना भाइरसको प्रभाव बढ्दै गएको छ। जसले गर्दा देशका नाका, स्कुल बन्द गर्ने मात्र नभएर ‘लक डाउन’ नै गर्नुपर्ने अवस्था सिर्जना हुनसक्ने डब्लूएचओले जनाएको छ। दक्षिण–पूर्वी एसिया क्षेत्रमा ११ देश छन्- इन्डोनेसिया, मलेसिया, सिंगापुर, फिलिपिन्स, इस्ट टिमोर, ब्रुनाई, कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्ड र भियतनाम। तीमध्ये अहिले इन्डोनेशिया, थाइल्यान्ड, फिलिपिन्स, मलेसिया, भियतनामलगायत सबै देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।
डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहका अनुसार भाइरस प्रसारणको अधिक समूहहरूको पुष्टि भइरहेको छ। उनले भने,‘हामीले तुरुन्तै कुनै न कुनै उपाय अपनाउन जरुरी छ।’
यस क्षेत्रको अवस्था कस्तो छ?
विश्व स्वास्थ्य संगठनका अनुसार सुरूमा दक्षिण–पूर्वी एसिया क्षेत्रमा कोरोना भाइरसको प्रभाव सुस्त थियो। तर, विगतका केही हप्तामा यसले भयावह रुप लिएको छ भने यसको क्रम बढ्दो छ।
यस क्षेत्रका देशहरूमध्ये सबैभन्दा बढी संक्रमण पुष्टि भएको देश मलेसियामा कोरोना भाइरसको प्रकोप भयावह रुपमा नदेखुञ्जेल कुनै पनि आवश्यक सतर्कताहरु अपनाएको थिएन। जसलाई कोरोना भाइरसको प्रकोप बढ्दै जानुको एक प्रमुख कारणको रुपमा लिइएको छ।
धेरैजसो देशहरूमा कोरोना भाइरस फैलिनुको मुख्य कारणको रुपमा धार्मिक जमघटलाई लिइएको छ। १६ हजारभन्दा बढी मानिसहरु एकै ठाउँमा भेला हुने भएकाले यसलाई पनि मुख्य कारणको रुपमा लिइएको हो।
मलेसियामा हालस्कुल, नाका तथा यात्राहरू बन्द गरी देशलाई ‘लक डाउन’ गरिएको छ। तत्थ्यांक अनुसार इन्डोनेशिया पनि संक्रमितको संख्या एक सय ७२ पुगेको छ। यसले सबैमा त्रास फैलाएको छ।
फिलिपिन्समा पनि कोरोनाको संक्रमण बढ्दै गएपछि क्वारेन्टाइन उपायहरू शुरू गरेको छ। यस्तै, म्यानमार र लाओसले भाइरसको कुनै पनि परीक्षण गरेका छैनन्। तर, विशेषज्ञहरूले भने गम्भीर रूपमा यसको विश्वसनीयतामा शंका गरेका छन्।
म्यानमारले भने त्यहाँको खान्की र रहनसहनले नै उनीहरुलाई कोरोना भाइरस लाग्नबाट जोगाएको बताउँदै आएको छ।











