Kathmandu Press

आत्महत्या भनिएको घटनाको छानबिन गर्न माग

मृतकका बुबाले आफू काठमाडौँमा भएको बेला उक्त घटना भएको जानकारी विद्यालयबाट आएको  र आफू त्यहाँ पुगेपछि मात्र प्रक्रिया अगाडि बढाउन विद्यालय प्रशासनलाई आग्रह गरिएता पनि आफू त्यहाँ पुग्दा प्रमाण नष्ट गराउने मनसायले काम गरेको देखिएको सुनाए।
आत्महत्या भनिएको घटनाको छानबिन गर्न माग

काठमाडौं, फागुन १७ : गोरखा जिल्ला अजिरकोट गाउँपालिका ५ मुच्चोकका दीपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालीनको आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत शालीन गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको हो। मृतक शालिनका पिता दीपेन्द्र पोखरेलले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी घटनाको वस्तुस्थिति अध्ययन गर्दा आत्महत्या नभएर बलात्कारपछि हत्या भएको देखिएको बताए।

Hardik ivf

'लास झुण्डिएको अवस्था, त्यहाँको वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुण्डिएर आत्महत्या गरेको भन्ने कुरा अस्वाभाविक र अपत्यारिलो देखिन्थ्यो', मृतकका बाबु पोखरेलले भने, 'घटनापछि सो विद्यालयमा गई मृत्युको सम्बन्धमा छलफल गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालिनकी कोठाका साथी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिसमेतलाई बोलाई छलफलपछि मात्र मुचुल्का गरौँभन्दा प्रहरीले विद्यालय परिसरभित्रै मेरो भाइ हरि पोखरेललाई निर्घात कुटपिट गरे।'

मृतकका बुबाले आफू काठमाडौँमा भएको बेला उक्त घटना भएको जानकारी विद्यालयबाट आएको  र आफू त्यहाँ पुगेपछि मात्र प्रक्रिया अगाडि बढाउन विद्यालय प्रशासनलाई आग्रह गरिएता पनि आफू त्यहाँ पुग्दा प्रमाण नष्ट गराउने मनसायले काम गरेको देखिएको सुनाए। 'म त्यहाँ पुग्नुभन्दा पहिले नै ‘घटना भएको छात्रावास’ को ढोका फोडिएको थियो, घटना भएको ठाउँमा सरसफाइ गरिसकेको थियो,' उनले भने, ' शालिनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा फेला परेको थियो, उक्त कुराको भिडिओ फुटेज मसँग सुरक्षित छ।'

बलात्कारपछि हत्या गरिएको आशंकापछि विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावास सुपरीवेक्षक कमल शर्मा पौडेलविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले नाम हटाएर ल्याउन भनेको मृतकका बाबु दीपेन्द्रले सुनाए।

उक्त घटनामा चार दिनपछि प्रहरीले जाहेरी लिएको र मृतक शालिनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टम गराउन आफूले शव बाहनमा ल्याएको, पोस्टमार्टम भएपनि शव अहिलेसम्म नबुझेको जानकारी दिए। प्रहरीले निष्पक्ष छानविन गरेर दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ।

मृतक शालिनकी आमा सगुनले आफूहरुलाई घटनाबारे ढिलो खबर गरेको र उक्त विद्यालय नजिकै बस्ने मृतककी हजुरआमासमेतलाई जानकारी नगराइएकाले घटना आत्महत्या नभई हत्या गरेको देखिएको हुँदा आफूजस्तै आमाले भोलिका दिनमा छोरीहरु यसैगरी गुमाउन नपरोस् भनेर घटनाको यथार्थ छानबिन गर्न माग गरिन्।

प्रकाशित मिति: १५:५९ बजे, बिहीबार, फागुन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्