Kathmandu Press

तनहुँ र नवलपरासी पूर्वका दुध उत्पादक किसान आन्दोलित

तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाइमा जिल्लाका दुध उत्पादक किसानहरुले सदरमुकाम दमौलीको भोर्लेटार चोकमा भेला भएर दुई घण्टा पृथ्वी राजमार्ग अवरुद्ध गरेका थिए।
तनहुँ र नवलपरासी पूर्वका दुध उत्पादक किसान आन्दोलित

दमौली, नवलपरासी, फागुन १८ : तनहुँ र नवलपरासी पूर्वका दुध उत्पादक किसानहरुले आफ्ना माग सम्बोधन नभएको बताउँदै राजमार्ग अवरुद्ध गरेका छन्। 

तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाइमा जिल्लाका दुध उत्पादक किसानहरुले सदरमुकाम दमौलीको भोर्लेटार चोकमा भेला भएर दुई घण्टा पृथ्वी राजमार्ग अवरुद्ध गरेका थिए।

Hardik ivf

किसानहरुले मिल्क होलिडे बन्द गर्नुपर्ने, लागत मूल्य घटाउने कार्यक्रममा लिटर अनुदान कम्तीमा ५ रुपियाँ लागु गर्नुपर्ने, पशु आहार पशु औषधीसम्बन्धी पशुपालनसँग सम्बन्धित वस्तुको मूल्य राज्यले अविलम्ब नियन्त्रण गर्नुपर्ने, बिमा रकम भुक्तानी सहज बनाउनुपर्ने, निर्यातित दुग्धजन्य पदार्थहरुमा अनुदानको व्यवस्था अविलम्ब गर्नुपर्ने माग राखेका छन्। 

यस्तै आयातित दुध तथा दुग्धजन्य पदार्थलाई पूर्णरुपमा बन्द गराई स्टक रहेको दुग्धजन्य पदार्थ नेपाल सरकारको कूटनैतिक पहलद्वारा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरणको प्रबन्ध गर्नेपर्ने, दुग्ध उत्पादक कृषकलाई व्यवसायमा जोगाइराख्न कृषि कर्जा अनुदान कार्यक्रम विगतका वर्षमा झैं यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग पनि राखेका छन्।

आफ्ना पूरा गर्न यही फागुन १४ गते किसानहरुले जिल्ला प्रशासन कार्यालयमा धर्नासहित ज्ञापनपत्र बुझाएका थिए। संघले जनाए अनुसार तनहुँका कृषकले मात्रै पाँच करोड रुपियाँ भुक्तानी लिन बाँकी छ। मुलुकभरका किसानहरुले आठ अर्ब रुपियाँ भुक्तानी लिन बाँकी रहेको जनाइएको छ। 

यता, नवलपरासी पूर्वका किसानहरू पनि दूधको भुक्तानी नपाएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले किसानहरूले सडकमै दूध खन्याएर विहान कावासोतीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। प्रदर्शनका कारण राजमार्गमा यातायातका साधनहरू रोकिएका थिए। पूर्वी नवलपरासीमा दैनिक करिब ७० हजार लिटर दूध बिक्री हुँदै आएको जनाइएको छ।

प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, फागुन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्