मन्त्रालयहरुको कार्यसम्पादनप्रति प्रधानमन्त्रीको असन्तुष्टि
चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको ७ महिने समीक्षा बैठकमा लक्ष अनुसार प्रगति नभएको बताए। प्रधानमन्त्रीले १४ प्रतिशत काम सुरु नै नभएको बताए।
काठमाडौं, फागुन १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयहरुको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन्।प्रधानमन्त्री दाहालले कार्यसम्पादन कमजोर भएको भन्दै असन्तुष्टी जनाएका हुन्।
चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको ७ महिने समीक्षा बैठकमा लक्ष अनुसार प्रगति नभएको बताए। प्रधानमन्त्रीले १४ प्रतिशत काम सुरु नै नभएको बताए। मन्त्री र सचिवहरु सहभागी बैठकमा प्रधानमन्त्रीले असन्तुष्टी जनाएका हुन्। चालु आर्थिक वर्षको ७ महिना समय बितिसक्दा पनि सार्वजनिक खर्च भने ४२ प्रतिशत मात्र हुनुले सन्तोष गर्ने ठाउँ नदेखिएको उनले बताए।
प्रधानमन्त्रीले माघसम्म सम्पन्न हुनुपर्ने एक हजार सात सय ७७ माइलस्टोनमध्ये ३६ प्रतिशत मात्रै सकिएको, ५१ प्रतिशत चालु अवस्थामा रहेको पनि मन्त्री र सचिवहरुलाई बताए। यस्तै प्रधानमन्त्री दाहालले राजस्व संकलनको अवस्थाप्रति पनि असन्तुष्टि जनाएका छन्। बजेट, जनशक्तिको अभाव, कानून कार्यविधि समयमै तयार नहुनु, समन्वय नहुनु जस्ता समस्या पुनः दोहरिएको भनाइृ प्रचण्डको थियो।
प्रधानमन्त्रीले भने, ‘हाम्रा नीति तथा कार्यक्रम, बजेट र कार्यक्रमबीच तादम्यता नमिल्दा परिणाम आइरहेको छैन। निर्धारित वार्षिक लक्ष्य र सूचकअनुसार कार्यसम्पादन पुरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय लिन हिच्किचाउने प्रवृत्ति मौलाउँदै जानु सकारात्मक सन्देश होइन।’ उनले मन्त्रालयगत कार्यसम्पादनस्तरको आँकडा हेर्दा बढी पूँजीगत खर्च गर्ने र विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूको प्रगति स्थिति कमजोर रहेको समेत बताए।












