डा. गोविन्द केसीले दिए पुनः सत्याग्रह गर्ने चेतावनी
डा. केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै आफूसँग विगतमा भएका सहमति कार्यान्वयनसहित ६ बुँदे माग सार्वजनिक गरेका छन्।
काठमाडौं, फागुन १६ : प्राध्यापक डा.गोविन्द केसीले पुनः सत्याग्रह गर्ने चेतावनी दिएका छन्। उनले चिकित्सा शिक्षा सुधारका लागि विभिन्न ६ बुँदे माग राख्दै आएका छन्।
डा. केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै आफूसँग विगतमा भएका सहमति कार्यान्वयनसहित ६ बुँदे माग सार्वजनिक गरेका छन्। केसीले मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारसँगै संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता पारिएका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पु¥याउन माग राखेका छन्।
‘प्रचण्ड र प्रचण्डको सरकारलाई सम्झौताहरु कार्यान्वयन गर्न र आमजनतासँग जोडिएका हाम्रा माग तुरुन्त पूरा गर्न पुनः आह्वान गरिन्छ’, केसीले विज्ञप्तिमा भनेका छन्, ‘अन्यथा सत्याग्रह लगायतका विभिन्न शसक्त एवं दवाव मूलक कार्यक्रम गर्न वाध्य हुनेछौं भन्ने जानकारी गराउन चाहन्छौं।’
यस्तै भेला हुने र प्रदर्शन गर्न पाउने संविधान प्रदत्त नागरिक अधिकार तत्काल फिर्ता गर्न पनि माग गरिएको छ। सरकारसँग भएको सहमति अनुसार कैलालीको गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउन, चिकित्सा शिक्षा ऐन अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्न र इलाम, उदयपुर र डडेलधुरारामा सरकारी मेडिकल कलेज खोल्न पनि उनले माग गरेका छन्।
सय शैय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रम सुरु गर्न, विश्वविद्यालय र प्रतिष्ठानहरुमा राजनीतिक भागवण्डाको अन्त गरी योग्यताका आधारमा पदाधिकारी नियुक्ति गर्न मापदण्डसहित उच्च शिक्षा ऐन तत्काल जारी गर्न पनि केसीको माग छ।












