Kathmandu Press

माओवादी स्थायी कमिटीको निर्णयमा जनार्दन शर्माले राखे लिखित असहमति (पूर्णपाठसहित)

बुधबारको स्थायी कमिटी बैठकमा उनले नेताहरुको विभाजनप्रति असन्तुष्टि जनाउँदै लिखित रूपमै फरक मत राखेका हुन्।
माओवादी स्थायी कमिटीको निर्णयमा जनार्दन शर्माले राखे लिखित असहमति (पूर्णपाठसहित)

काठमाडौं, फागुन १६ :  माओवादी केन्द्रको स्थायी कमिटीको निर्णयमा उपमहासचिव जनार्दन शर्माले लिखित असहमति राखेका छन्।

बुधबारको स्थायी कमिटी बैठकमा उनले नेताहरुको विभाजनप्रति असन्तुष्टि जनाउँदै लिखित रूपमै फरक मत राखेका हुन्। कार्य विभाजन गर्दा पार्टी निर्माण गर्न संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरुमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत वेवास्था गरी विधि विपरित आफ्नो अनुकूलतामा निर्णय गरिएको उनको भनाइ छ।   

Hardik ivf

जनप्रतिनिधि पार्टीको इन्चार्ज नरहने नीति आफूलगायत नेताहरुमा लागु भए पनि नारायण दाहाललाई वाग्मती प्रदेशको सहइन्चार्ज बनाइएको भन्दै शर्माले असहमति राखेका छन्। मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको थियो। जसअनुसार यसअघि बागमतीका इन्चार्ज रहेका शर्मा, उपत्यकाका इन्चार्ज रहेका वर्षमान पुन, गण्डकीका इन्चार्ज रहेका देवेन्द्र पौडेल लगायतलाई जिम्मेवारीविहीन बनाइएको छ। उनले आफूले जिम्मेवारी नपाउने कुरालाई सामान्य रुपमा लिएको पनि बताएका छन्।

‘मैले जिम्मेवारी नपाउने कुरालाई सामान्य रूपमा लिएको छु। तर यसभित्रको अन्तर्निहित उद्देश्य, विधान सम्मेलनमा मैले प्रस्तुत गरेका एजेन्डाहरू, छलफल र हलले पदाधिकारी समेत अधिवेशनबाट चुनिनुपर्ने मागलाई बेवास्ता गर्दै पदाधिकारी र पार्टी नामबारे पछि गरौंला भन्दै टारिएको अवस्था जगजाहेर छ,’ शर्माकाे फरक मतमा उल्लेख छ, ‘उपर्युक्त मतप्रति सकारात्मक रहेकाहरूलाई जिम्मेवारी विहीन बनाउनुले के मनसाय रहेको छ भने स्पष्ट हुन्छ। उक्त अधिवेशनमा मैले मौखिक रूपमा सो सम्बन्धमा राखेको कुराप्रति बेवास्ता गरेकाले मैले पार्टीको विधि विधानभित्र रहेर आफ्नो मत राख्न खोज्दा अधिवेशनमा समेत बोल्ने अनुमति नदिएको स्मरण गराउँदै कार्य विभाजनमा आइपुग्दा सोही आग्रहबाट निर्देशित भएको स्पष्ट हुन्छ।’

शर्माले अध्यक्ष प्रचण्डका परिवारलाई छानीछानी जिम्मेवारी दिइएकोमा आपत्ति समेत जनाएका छन्। ‘जनप्रतिनिधिहरू पार्टीको इन्चार्ज नरहने नीति म लगायतका कमरेडहरूलाई लागू गरेको भने पनि नारायण दाहाललाई बागमती प्रदेशको सह–इन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पष्ट गरेको छ,’ उनले लेखेका छन्, ‘अझ गम्भीर कुरा त सेती महाकालीमा केही समयदेखि इन्चार्ज बनाउन अध्यक्ष समेतको संलग्नतामा गरिएको गतिबिधिहरुका आधारमा दर्जनभन्दा बढी कमरेडलाई वेवास्था गर्दै, स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्युत गरी विकल्प नदिई अपमानित गरिएको छ’, फरक मतमा भनिएको छ, ‘सो प्रदेशमा हाललाई बिना मगरलाई सह–इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैमा गम्भिर छ। खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रुपबाट बिस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछु।’

विधान अधिवेशनबाट पारित भएका निर्णयहरु सम्पादन गरी तुरुन्त कार्यान्वयमा ल्याउनुपर्ने उनको माग छ। विधानको व्यवस्था अनुसार पार्टी पंक्तिमा आफ्नो मत राख्न पाउने अधिकारको उपयोग गर्दै लिखित असहमति पत्र बैठकमा पेश गरेको शर्माको भनाइ छ ।

janardan_SgQXg4xMkS-1709102520.webp

प्रकाशित मिति: १२:२७ बजे, बुधबार, फागुन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्