चीनमा भन्दा इटालीमा घातक बन्दै कोरोना
काठमाडौं, चैत ५ : कोरोना भाइरसको संक्रमण चीनमा भन्दा पनि इटालीमा घातक बन्दै गएको छ। कोरोना भाइरसको उद्गमस्थल चीनभन्दा बढी बिरामीले इटालीमा ज्यान गुमाइ....

काठमाडौं, चैत ५ : कोरोना भाइरसको संक्रमण चीनमा भन्दा पनि इटालीमा घातक बन्दै गएको छ। कोरोना भाइरसको उद्गमस्थल चीनभन्दा बढी बिरामीले इटालीमा ज्यान गुमाइरहेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार, चीनमा भन्दा इटालीमा मृत्युदर बढेको छ। चीनमा कोरोना भाइरस फैलिएको चार महिना भएको छ। तर, इटालीमा एक महिनामै चीनकै हाराहारीमा सर्वसाधारणले ज्यान गुमाएका छन्।
बुधबार बिहानसम्मको तथ्यांकअनुसार, इटालीमा दुई हजार पाँच सय तीन जनाले ज्यान गुमाएका छन्। जबकी इटालीमा ३१ हजार पाँच सय ६ जनामा संक्रमण देखिएको छ।
चीनमा यो चार महिनामा ८० हजार नौ सय ९४ जनामा संक्रमण देखिएको छ। त्यसमध्ये तीन हजार दुई सय ३७ जनाको मात्रै ज्यान गएको छ।
अझ सिकिस्त बिरामीको संख्या पनि इटालीमै धेरै छ। इटालीमा दुई हजार ६० जना सिकिस्त रहेको वल्डोमिटरको तथ्यांक छ।
इटालीमा निको हुने बिरामीको दर पनि कम रहेको छ। चीनमा ८० हजार बिरामी हुँदा झन्डै ७० हजार निको भएका छन् भने इटालीमा ३१ हजार बिरामी हुँदा तीन हजार मात्रै निको भएका छन्।
त्यस्तै, इरान र स्पेनमा पनि कोरोना भाइरसको संक्रमण जोखिमपूर्ण देखिएको छ। इरानमा नौ सय ८८ जनाको मृत्यु भएको छ भने १६ हजार एक सय ६९ जना बिरामी भएका छन्।
स्पेनमा पनि पाँच सय ३३ जनाले ज्यान गुमाइसकेका छन्। ११ हजार आठ सय २६ जना बिरामी छन भने १२ जनाको अवस्था गम्भीर रहेको छ।
अमेरिका र युरोपका अधिकांश देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार बिहानसम्म संसारका एक सय ६५ देशका कोरोना भाइरसको संक्रमण देखिएको छ।
अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट सात हजार नौ सय ८८ जनाले ज्यान गुमाएका छन्। त्यस्तै, एक लाख ९८ हजार पाँच सय १७ जना बिरामी परेका छन्। अहिलेसम्म ८२ हजार सात सय ६३ जना निको भएर घर फर्केका छन्।











