दुई महिनाको अवधिमा रास्वपाका तीन महामन्त्री पदमुक्त, कर्णालीको सिंगो समिति विघटन
रास्वपाले कोशीका महामन्त्री लालबिक्रम थापा अनियमिततामा मुछिएको, गण्डकीका महामन्त्री अशोक खड्का र सुदूरपश्चिमका महामन्त्री भोजराज जोशी कार्यक्षमता कमजोर भएको आरोप लगाउँदै जिम्मेवारीमुक्त गरेको हो।
काठमाडौं, फागुन १५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकपछि अर्को गर्दै प्रदेशका महामन्त्रीलाई पदमुक्त गरेको छ। दुई महिनाको विचमा कोशी, गण्डकी र सुदूरपश्चिमका महामन्त्री हटाइएका छन्। यता, कर्णालीको सम्पूर्ण समिति नै विघटन भएको छ।
रास्वपाले कोशीका महामन्त्री लालबिक्रम थापा अनियमिततामा मुछिएको, गण्डकीका महामन्त्री अशोक खड्का र सुदूरपश्चिमका महामन्त्री भोजराज जोशी कार्यक्षमता कमजोर भएको आरोप लगाउँदै जिम्मेवारीमुक्त गरेको हो।
कोसीका महामन्त्री थापाले सनमुन प्लाजाका नाममा सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर पाँच वर्षसम्म भाडा नतिरेको तथ्य बाहिरिएपछि स्पष्टीकरण सोधिएको थियो। केन्द्रीय अनुशासन आयोगको सिफारिसमा प्रदेश समितिले थापालाई पदबाट हटाएको हो।
गण्डकी प्रदेशका महामन्त्री अशोक खड्कामाथि कार्यसम्पादन कमजोर भएको, पार्टीका कामलाई समय नदिएको, गुट निर्माण गरेको लगायत आरोप छन्। उनलाई भने दुई महिना अघि नै पदमुक्त गरिएको थियो। ६ फागुनमा बसेको रास्वपाको सचिवालय बैठकले कर्णाली प्रदेशको कमिटी विघटन गरेको हो।
कर्णालीका जिल्ला समितिहरु पनि प्रभावकारी नभएपछि विघटन गरिएको जनाइएको छ। कर्णालीको प्रदेश समिति र जिल्ला समितिहरुले संगठन विस्तार गर्न नसकेको जनाइएको छ। सुदूरपश्चिम महामन्त्री भोजराज जोशीलाई हटाएर पारस बाहुनलाई जिम्मेवारी दिइएको छ।












