आचार्यको पार्थिव शरिरमा श्रद्धाञ्जलीपछि राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं, फागुन १५ : भजनशिरोमणी तथा संगीतकार भक्तराज आचार्यलाई श्रद्धाञ्जली दिने क्रम जारी छ। अन्तिम श्रद्धाञ्जलीपछि मंगलबारै राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।
अन्तिम श्रद्धाञ्जलीका लागि अहिले स्वर्गिय आचार्यको पार्थिव शरीर संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ। अन्तिम श्रद्धाञ्जली अर्पण गर्न गीतसङ्गीत क्षेत्रका साधक, कलाकर्मी, स्रष्टा, सर्वसाधारण लगायतको बाक्लो उपस्थिति रहेको छ। आचार्यको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो। आचार्यले झन्डै चार सय गीतमा स्वर तथा सङ्गीत दिएका छन्। आचार्य स्वरसम्राट् नारायण गोपालका समकालीन गायक थिए।
आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत उनका गीत लोकप्रिय छन्। १९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम सङ्गीतमा विशिष्ट स्थान छ। आचार्य गायक सत्यराज र स्वरूपराज आचार्यका पिता हुन्।












