Kathmandu Press
मिटरब्याज पीडितलाई भृकुटीमण्डपबाट हटाउन पुगे प्रहरी
मिटरब्याज पीडितलाई भृकुटीमण्डपबाट हटाउन पुगे प्रहरीभृकुटीमण्डपको खुला चौरमा आश्रय लिएर न्यायको माग गरिरहेका पीडितहरूलाई हटाउन सोमबार डिएसपीकै टोलीमा प्रहरीहरू आएको र खाली नगरे हटाउने भनेर धम्क्याएको पीडितहरूको गुनासो छ ।

काठमाडौं, फागुन १५: काठमाडौंको भृकुटीमण्डपको खुला चौरमा आश्रय लिएर न्यायको माग गर्दै संघर्षरत मिटरब्याजपीडितहरूले आफूहरूलाई त्यहाँबाट हटाउन सरकारले प्रहरी परिचालन गरेको बताएका छन् ।

पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिनसम्म पैदल हिडेर बिहीबार काठमाडौं आइपुगेका उनीहरू त्यसयता भृकुटीमण्डपको खुलाचौरमा बसिरहेका छन् । त्यहाँ बसेर धर्ना र विरोधका कार्यक्रम गरिरहेका पीडितहरूलाई हटाउन सोमबार डिएसपीकै टोलीमा प्रहरीहरू आएको र खाली नगरे हटाउने भनेर धम्क्याएको पीडितहरूको गुनासो छ ।

Hardik ivf

मिटरब्याज ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले सरकारले द्वैध चरित्र प्रदर्शन गरेको आरोप लगाए ।

‘सरकारले एकातिर हामीलाई वार्तामा बोलाएको छ, अर्कोतिर आश्रय लिएको ठाउँबाट हटाउन प्रहरी परिचालन छ,’ उनले भने, ‘सरकारको द्वैध चरित्र हामीलाई मान्य छैन ।’

मिटरब्याजपीडितहरूसँग सरकारले आइतबार पहिलो चरणको वार्ता गरेपनि त्यसपछि भने वार्ताको बातावरण बनेको छैन । आफूहरूलाई भृकुटीमण्डपबाट हटाउने प्रयास गरिएको भन्दै संघर्ष समितिले वार्तामा बस्ने नैतिक धरातल गुमेको बताएका छन् ।

‘हामीले वार्ताका लागि आह्वान गरेकोमा स्वागत गर्दै वार्तामा सहभागी भई थप छलफल विहान ११ बजेदेखि सुरु गर्ने गरी पहिलो बसाइँ टुंग्यायौँ । तर यता वार्तामा बस्ने उता धर्नास्थल र बास खोस्ने षड्यन्त्र रच्दै प्रहरीमार्फत् धम्काउने कार्य गर्दा राज्यको नियत धोकापूर्ण देखियो,’ अध्यक्ष कुशवाहाले भने, ‘पीडितहरूको न्यायिक संघर्षप्रतिको राज्यको उपेक्षा सह्य छैन । हामीलाई बासको बैकल्पिक व्यवस्था नगरीकन उठिबास लगाउन खोजे त्यसको सशक्त प्रतिकार गर्न तयार छौँ ।’

उनले सरकारको यस्तो चरित्रले वार्ताको अस्तित्व माथि नै प्रश्नचिन्ह खडा गरेको बताएका छन् ।

प्रकाशित मिति: १०:३७ बजे, मंगलबार, फागुन १५, २०८०
प्रतिक्रिया दिनुहोस्