Kathmandu Press

एनसेल प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा एनसेल प्रकरणबारे छानबिन गरी प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा सत्तारुढ दल नेपाली कांग्रेसकै सांसद अर्जुननरसिंह केसीले जोड दिए।
एनसेल प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं, फागुन १४ : संसदमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा एनसेल प्रकरणबारे छानबिन गरी प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा सत्तारुढ दल नेपाली कांग्रेसकै सांसद अर्जुननरसिंह केसीले जोड दिए।

Hardik ivf

शून्य समयमा बोलेका केसीले छानबिन समितिले बुझाएको प्रतिवेदनलाई पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम गर्न नहुने भन्दै त्यसको वास्तविकता जनताले थाहा पाउनुपर्ने बताए। उनले प्रतिवेदन सार्वजनिक गरेर संसदमै छलफल गर्नुपर्ने माग गरे। 

केसीले भने, ‘नेपालको इतिहासको सबैभन्दा ठूलो भ्रष्टाचार काण्डको रूपमा चर्चित रहेको एनसेल छानबिन समितिको प्रतिवेदन प्रस्तुत भइसकेको छ। यो प्रतिवेदनलाई केवल पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम नहोस्। त्यसको वास्तविकता जनताले थाहा पाउनुपर्छ। यो खर्बौंको भ्रष्टाचार यथार्थमा संसदमार्फत् जनतामा पुग्नुपर्छ। संसदमा सामूहिक रुपमा छलफल गर्नुपर्छ।’

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले पनि एनसेल प्रकरणको प्रतिवेदनको खोजी गरे। 
प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ अवरोध गरेका प्रतिपक्षीले विशेष समयमा बोल्ने क्रममा लामिछानेले भने, ‘आजिकाटाको रिपोर्ट खोई ? एनसेल खरिद बिक्रीको विषयलाई लिएर संसद र सडक तात्यो। खोई, यो विषयमा हामीले चर्चा गर्न पाएको ?’

गत माघ १४ गते एनसेलको सेयर खरिद बिक्री अध्ययन तथा छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझाएको एक महिना भएको छ। 

 

प्रकाशित मिति: १४:३७ बजे, सोमबार, फागुन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्