विवादित मन्त्री र सांसदहरुलाई घर पठाइदिऔं : गगन थापा
उनले विवादितहरूलाई घर नपठाएसम्म संसदमा दोहोरी चलिरहने बताए।
काठमाडौं, फागुन १४ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विवादित मन्त्री र सांसदहरुलाई घर पठाउनुपर्नेमा जाेड दिएका छन्।
प्रतिनिधिसभाको सोमबार बसेकाे बैठककाे शून्य समयमा बोल्दै थापाले उनले नागरिकता र सहकारी ठगीमा विवादित मन्त्री र सांसदहरुलाई काखा र पाखा नगरी घर पठाउन आग्रह गरे। उनले भने, 'अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालको झन्डा छोपेर घर पठाइदिऔं।’
उनले विवादितहरूलाई घर नपठाएसम्म संसदमा दोहोरी चलिरहने बताए। ‘सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔं। यति गर्न सके के होला? निर्दोष भएर फर्किएर आउनुहोला फूल माला लगाएर स्वागत गरौंला। दोषी भए दण्ड बेहोर्नुहोला ।’
यति गर्न सके बल्ल संसदमा मिटरब्याजपीडितका बारेमा, दूधको मूल्यका बारेमा, एनसेलको प्रतिवेदनका बारेमा जमेर सार्थक छलफल गर्न सकिने उनकाे भनाइ थियाे।












