उपभोक्ताका तीन मनोविज्ञान: जसले बजारमा सामान किन्न हानाथाप भइरहेछ
काठमाडाैं, चैत ५ : पसलहरुमा मास्क सकियो, त्यसपछि सेनिटाइजर रित्तियो। कोरोनाको कहरले मानिसहरुले आक्रामक खरिद गर्दा ट्वाइलेट पेपर समेत हाहाका....
काठमाडाैं, चैत ५ : पसलहरुमा मास्क सकियो, त्यसपछि सेनिटाइजर रित्तियो। कोरोनाको कहरले मानिसहरुले आक्रामक खरिद गर्दा ट्वाइलेट पेपर समेत हाहाकार भयो। सुपरमार्केटमा यस्तो परिदृश्यपछि क्यानडा र अमेरिकामा एक पटकमा एक उपभोक्ताले गर्ने खरिदको सिलिङ तोकिएको छ।
अष्ट्रेलियाका सुपरमार्केटमा उपभोक्ताबीच झडप हुन थालेपछि कडा सुरक्षाको प्रबन्ध गरिएको छ। कोरोनाको संक्रमणले सबैको ज्यान जोखिममा छ। महामारीको यस्तो अवस्थामा मानिसहरु आफ्नो सुविधा मात्र हेरेर किन आवश्यकताभन्दा बढी सामान खरिद गर्छन्? विज्ञहरुले यसका पछाडि तीन कारण औँल्याएका छन्।
१. अत्यासिलो मनोविज्ञान
महामारीको सूचनाले मानिसहरुमा अत्यास थप बढ्ने विज्ञहरु बताउँछन्। कोरोनाको त्रासले अत्याससँगै अन्योलता बढेकाले उपभोक्ताहरुले आक्रामक खरिद गरेको जानकारहरुको तर्क छ।
'महामारीको अवस्थामा मानिसहरु निकै अतालिन्छन् उनीहरु दैनिक उपभोग्य वस्तु सकेसम्म सञ्चित गरी सुरक्षित हौं भन्ने तर्फ लाग्छन्। त्यसैले बजारमा सामान खरिदका लागि हानाथाप र बजारमा दैनिक उपभोग्य सामग्रीको हाहाकार देखिएको हो,' ब्रिटिस कोल्मबिया विश्वविद्यालयका प्राध्यापक स्टेभन टेलर भन्छन्।
महामारीको अवस्थामा आतंकित नभई संयमित हुन प्राध्यापक टेलर सुझाउँछन्। 'महामारीको अवस्थामा सावधानीसँगै संयमता जरुरी छ। अत्याशिलो भएर होइन आत्मविश्वासिलो भएर दैनिक गुजारा चलाउनुपर्छ आफ्नो आवश्यकता पूरा गर्न अनावश्यक संचितिकरण होइन अरुप्रति पनि सद्भाव राख्नुपर्छ,' उनी भन्छन्।
२. आतंकित मनोविज्ञान
कोरोनाको संक्रमण जोखिमका कारण विभिन्न देशमा नागरिकहरुलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ। क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले उनीहरु दैनिक उपभोग्य वस्तुको पर्याप्त भण्डारण गर्न चाहन्छन्। सरकारी निकायले उपभोग्य सामग्रीको भण्डारण पर्याप्त रहे नरहेको सही सूचना प्रवाह नगर्दा मानिसहरु आतंकित बनेको मेलन विश्वविध्यालयका प्राध्यापक ब्रोच फिसोफ बताउँछन्।
'सरकारी संयन्त्रले माग र आपूर्तिबीचको संयोजन सही छ भन्ने सुनिश्चित नगर्दा मानिसहरु थप आतंकित भएका हुन्। उनीहरुले दैनिक उपभोग्य सामग्रीको अभाव नहुने प्रत्याभूति दिलाए उपभोक्ताहरु आतंकित बन्ने छैनन्,' फिसोफ भन्छन्।
सुपरमार्केटहरुमा देखिएको खाली र्याकका कारण पनि मानिसहरु आतंकित छन्। ती दृश्यले खाने कुरा नै नपाइने हो कि बन्ने त्रास उपभोक्तामा बढेको छ। सँगसँगै खाने कुराको सक्दो भण्डारण गर्ने लोभ जगाएको छ।
'मानिसहरु जब सुपरमार्केटका रित्तो र्याक देख्छन् उनीहरु थप आतंकित बन्छन् खाने कुरा सक्दो भण्डारण नगरे भोकभोकै मर्नुपर्ने स्थिति आउन सक्ने त्रास उनीहरुमा छ,' प्राध्यापक स्टेफन टेलर भन्छन्। भयभित अवस्था हटाउन सरकारी संयन्त्रले गलत सूचना प्रवाह रोक्नुपर्ने, माग र आपूर्तिबीचको संयोजन प्रभावकारी रुपमा मिलाउनुपर्ने प्राध्यापकहरुको सुझाव छ।
३. अस्तित्ववादी मनोविज्ञान
कठिन परिस्थितिमा पनि आफ्नो अस्तित्व कायम राख्न मानिहरुले गरेको भण्डारण व्यवहारिक रहेको केही विज्ञहरुको तर्क छ। दैनिक उपभोग्य वस्तु आफ्नो घरमा अभाव छैन भनेर निर्धक्क रहन मानिसहरुले गरेको भण्डारण व्यवहारिक रहेको प्राध्यापक फ्राङ फर्ली बताउँछन्।
'कठिन परिस्थितिमा पनि मानिस आफ्नो अस्तित्व कायम राख्न खोज्छ। अभावपूर्ण वातावरणमा पनि अभावरहित हुन खोज्दा यस्तो अवस्था सिर्जना भएको हो,' उनी भन्छन्। महामारीको यो अवस्थामा व्यक्तिहरु आफ्नो परिवारको मात्रै अस्तित्व कायम राख्न हानाथाप गरिरहेका छन्। यतिसम्म कि उनीहरुलाई सुरक्षित राख्न खटिरहेका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुबारे समेत सोच्न नसकेको प्राध्यापक फ्राङको भनाइ छ।
'अत्यावश्यक वस्तुको पूर्वानुमानित संकटका कारण मानिसहरु आफू अभावरहित हुन चाहेका छन्। आफूले थुपारेर अभाव सिर्जना गर्दा अरुको अवस्था के होला विचार पुर्याउन भ्याएका छैनन्,' उनी भन्छन्। विपत्तिको यो अवस्थामा आतंकित नभई संयमित हुन र लुछेर नभई बाँडेर दैनिक उपभोग्य सामग्रीको प्रयोग गर्न प्राध्यापकहरुले सुझाएका छन्।