ट्विनअटर खरिदमा १८ करोड कमिसनको सूचना पाएको सांसद खतिवडाको दाबी
मन्त्री किराँती सस्तो लोकप्रियतामा लागेको पनि सांसद खतिवडाले बताए।
काठमाडौं, फागुन १३ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पर्यटन मन्त्री सुदन किराँतीले विश्वमा उत्पादन बन्द भइसकेको ट्वीनअटर विमान खरिदको नाममा १८ करोड कमिसन खान लागेको सूचना आफूले पाएको बताएका छन्।
मन्त्री किराँतीले टाट पल्टेको निगममा ६२ जना कर्मचारी भर्ना गरेको विषयमा पनि प्रश्न उठाएका छन्।
खतिवडाले निगमको एउटा ट्वीनअटर बिग्रिएर १० वर्षदेखि ग्राउन्डेड भएर थन्किएर बसेको, निगममा १२ सय कर्मचारी स्थायी र आउट सोर्सिङबाट झन्डै ८ सय कर्मचारी रहेको अवस्थामा पर्यटन मन्त्री नयाँ प्लेन किन्न र कर्मचारी भर्ना गर्न उद्दत रहेको समेत बताए। सांसद खतिवडाले दुई वटा ट्वीनअटर विमान क्यानडाबाट किनेर ल्याउने अहिले निर्णय भएको भन्दै गम्भीर आपत्ति जनाए।
खतिवडाले भने, ‘थ्री हन्ड्रेज जि भन्ने विमान ल्याउने भनिएको छ तर अहिले त्यसको उत्पादन छैन। त्यो विमान ल्याएर झन्डै १८ करोड कमिसन खाने सूचना प्राप्त भएका छन्। तैपनि मैले सुधार हुन लागेको आभास पाएको छु। मन्त्रीज्यू एउटा झाडु र क्यामेरा लिएर मन्त्रालयमा फोटो खिचेर बाहिर ल्याउने पद्धतिको विकास भएको छ। यसरी मुलुक कहाँ जाने हो सभामुख महोदय ?’
मन्त्री किराँती सस्तो लोकप्रियतामा लागेको पनि सांसद खतिवडाले बताए।












