जनावरबारे कौतुहलता मेट्ने किताब ‘जीवगाथा’
जनावरबारे कौतुहलता मेट्ने रोचक तथ्य समेटिएको किताब ‘जीवगाथा (गाँस, बास र सहवास)’ शनिबार सार्वजनिक गरिएको हो।
काठमाडौं, फागुन १३ : तीन दशकदेखि वन्यजन्तु तथा पन्छी जगतबारे अनुसन्धानमा सक्रिय लेखक एवं पत्रकार ददि सापकोटाद्वारा लिखित ‘जीवगाथा’ लोकार्पण भएको हो। जनावरबारे कौतुहलता मेट्ने रोचक तथ्य समेटिएको किताब ‘जीवगाथा (गाँस, बास र सहवास)’ शनिबार सार्वजनिक गरिएको हो।
जीवजन्तुको माया, प्रेम, जन्म, वृद्धि, बसाइँसराइ, सञ्चारका लागि साङ्केतिक भाषाको प्रयोग र सुरक्षादेखि समग्र जीवनशैलीलाई किताबमा समेटिएको लेखक सापकोटाले बताए। जीवजन्तुबारे रोचक, जानकारीमूलक र ज्ञानवर्धक सामग्री समेटिएको यस किताब जीवजन्तु संरक्षणसम्बन्धी नीति निर्माणमा सहयोगी हुने उनको भनाइ छ। किताबमा जीवजन्तुको आनीबानी, प्रेम र द्वन्द्वलगायत विषयसँगै पर्यावरण जोगाउन भूमिका भएका साना जनावर तथा पन्छी संरक्षणबारे किताबमार्फत विषय उठान गरिएको उनको भनाइ छ।
'मान्छेलाई जीवजन्तु देख्दा लागेको कौतुहल मेट्नका लागि किताबमा विभिन्न जीवजन्तुबारे छोटो र सरल भाषामा जानकारी उपलब्ध गराइएको छ। पोथी मयुँरले कसरी भाले छान्छ वा आकर्षण कसरी हुन्छ भन्नेजस्ता विषय पनि पुस्तकमा समेटिएको छ', लेखक सापकोटाले भने। पछिल्लो समय भइरहेको विकास निर्माण जीवजन्तुमैत्री भए वा नभएबारे पनि पुस्तकमा विषय उठान गरिएको छ। उनले औद्यौगीकरण र प्रविधिको प्रयोगले जीवजन्तुमा पार्ने प्रभावलाई न्यूनीकरण गर्न अत्यावश्यक भइसकेको बताए।
'जङ्गलमा बाघ मात्र महत्वपूर्ण जीव हैन। अन्य जीवजन्तुको पनि भूमिका महत्वपूर्ण हुन्छ', लेखक सापकोटाले भने, 'किरा खाने फिस्टा चराले कम्तीमा पनि एक दिनमा एक सय ९० वटा किरा खान्छन्, यदि किरा नखाइदिए वन संरक्षण वन्यजन्तुमा स्वतः प्रभाव पर्छ।'
लेखक सापकोटाले जीवजन्तुले गर्ने माया, दिने धोका, जन्मिँदै आँखा नदेख्ने आफ्ना डमरु (बच्चा) हुर्काउँदाका पीडा, जीवजन्तुको प्रेम, वनस्पतिले एक अर्कासँग गर्ने कुराकानीलगायतका रोचक पक्ष, कहिल्यै नसुनिएका र नपढिएका कथा पनि पुस्तकमा समेटिएका छन्।
'हामीलाई बिरुवाले कसरी हाडनाता करणी गर्छन् र रोक्छन भन्ने लाग्छ। अचानक मौसममा आएको परिवर्तनले जमिनमुनिको बिरुवाले उम्रिनका लागि गर्ने सञ्चारदेखि हामीले गरेको भौतिक निर्माण, विकासका काम र जलवायू परिवर्तनका कारण कारण रुखबिरुवाको जीवनशैलीमा पारेको असर पनि पुस्तकमा समेट्ने प्रयास गरिएको छ।'












