वैशाख १५ मा उपािर्वाचन गर्ने आयोगको निर्णय
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित पदाधिकारीको बैठकले उपनिर्वाचनको मिति टुंगो लगाएको हो।
काठमाडौं, फागुन १३ : उपनिर्वाचनको तयारीका लागि बसेको निर्वाचन आयोग पदाधिकारी बैठकले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय गरेको छ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उक्त पद रिक्त छ। बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएका कारण रिक्त छ। स्थानीय तहको उपनिर्वाचन मिति आयोगको परामर्शमा सरकारले तोक्ने जनाइएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित पदाधिकारीको बैठकले उपनिर्वाचनको मिति टुंगो लगाएको हो। यसअघि आयोगले उपनिर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्श लिएर मिति तय गरेको हो।
हाल इलाम क्षेत्र नम्बर २, प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१), स्थानीय तहतर्फ दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा, जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुख पदमा,दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदमा, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदलगायत वडाध्यक्ष र सदस्यहरुसहित १६ स्थानमा निर्वाचन गर्नुपर्ने अवस्था छ।












