Kathmandu Press

‘नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको उपयोग गर्नुपर्छ’

माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले वडामा बसेर बजेट निर्माण गर्ने कामलाई आफूले बजेट विनियोजन गर्ने आश्वासन र पहल गर्ने प्रतिबद्धता जनाए।
‘नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको उपयोग गर्नुपर्छ’

ललितपुर, फागुन १३ : नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। ललितपुरमा भएको ‘जनप्रतिनिधिसँग प्रेस सेन्टर’ विषयक अन्तरक्रियामा सहभागीले सूचना प्रविधिको प्रभाव रहेको वर्तमान समयमा सत्यतथ्य सूचना र घटनालाई चाँडो र प्रभावकारीरुपमा सम्प्रेषण गर्दै सुसूचित गराउने नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा जोड दिएका हुन्। 

अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै माओवादी केन्द्र प्रचार विभागका सहइञ्चार्ज महेश्वर दाहालले पत्रकारले नागरिकलाई केन्द्रबिन्दुमा राखेर पत्रकारिता गर्न सामाजिक सञ्जालको सही तरिकाले प्रभावकारी हुनेगरी उपयोग गर्नुपर्ने बताए। 'वेबसाइट, ब्लग र सामाजिक सञ्जाल प्रयोग गरेर जनताले जनतालाई नै सूचित गर्ने अभ्यास नागरिक पत्रकारिता हो, यसको व्यवस्थित जग भने दक्षिण कोरियाबाट निर्माण भएको हो। अहिले विश्वभरि इन्टरनेटले लाखौँ समाचार साइट र ब्लग जन्मिएका छन्, यसको सही प्रयोगबाट नै आजको युगमा प्रभावकारीरुपमा नागरिकमैत्री पत्रकारिता गर्न सकिन्छ', दाहालले भने। 

Hardik ivf

कार्यक्रममा ‘सामाजिक सञ्जालको प्रयोग र प्रचार युद्ध’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले वेबसाइट, ब्लग र सामाजिक सञ्जाल प्रयोग गरेर जनताले जनतालाई नै सूचित गर्ने अभ्यास दक्षिण कोरियाबाट निर्माण भएको बताए। उनले सन् २००० देखि सामाजिक सञ्जालको प्रयोग र प्रचारले फड्को मार्दै आएको प्रष्ट पारे।

दक्षिण कोरियाका अनलाइन उद्यमी ओह येओन–हो नेतृत्वको टिमले ‘सबै नागरिक रिपोर्टर’ का अवधारणा ल्याएको जानकारी गराउनुहुँदै उहाँले सात सय २७ जना नागरिक रिपोर्टरबाट सुरु भएको अनलाइन सूचना प्रणाली सन् २००७ सम्म आउँदा सय देशबाट ५० हजार नागरिक रिपोर्टरसहित विस्तार भएको र अहिले विश्वभरि इन्टरनेटले लाखौँ समाचार साइट र ब्लग जन्माएको बताए। 

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा अग्रज पत्रकार भवानी बरालले प्रेस र जनप्रतिनिधिको भेट शीर्षकमा दोस्रो कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल नयाँ मिडिया र आमसञ्चारका विविध विषयमा सरल तरिकाले प्रस्तुतीकरण गरेका थिए। उनले विद्युतीय माध्यमको प्रयोगका सकारात्मक र नकारात्मक पक्षमा प्रकाश पार्नुहुँदै लोकतन्त्रको रक्षार्थ पत्रकारिता प्रभावकारी ढङ्गले उत्रनुपर्नेमा जोड दिए। 

युनेस्कोले सन् २०२२ मे ३ विश्व प्रेस स्वतन्त्रताका अवसरमा अगाडि सारेको थिम ‘प्रविधिको घेरबन्दीमा पत्रकारिता’ विषयलाई व्यापक छलफलमा लैजान आग्रहसमेत गर्नुभयो। कार्यक्रममा महालक्ष्मी–६ का वडाध्यक्ष धर्म महर्जनले वडामा धेरै राम्रो काम गरेको तर पार्टी सङ्गठनले सहयोग नगरेको दुखेसो पोखे। ललितपुर महानगरपालिका–२ का वडाध्यक्ष रविन्द्र महर्जनले आफ्नो ऐतिहासिक बस्ती खोकनाको सवलपक्षको प्रचारप्रसारमा ध्यान दिन पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गरे। 

कोन्ज्योसोम वडा नं ५ का वडाध्यक्ष विजय लामाले राजधानीको कर्णालीका रुपमा वर्षौं दुःख खेपेको बताए। उनले अहिले भारदेउ राजधानीको नजिकको पर्यटकीयस्थल रहेको बताउँदै सोकाबारेमा उजागार गर्न पत्रकारलाई आग्रह गरे। बागमती गाउँपालिका–५ इकुडोलका अध्यक्ष नवराज तिमल्सिनाले जिल्लाका हरेक पालिकाका सम्भावनालाई उजागर गर्न पालिका तहमै पुगेर जनप्रतिनिधिसँग बहस र छलफलका कार्यक्रम चलाइनुपर्नेमा जोड दिए। 
   
माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले वडामा बसेर बजेट निर्माण गर्ने कामलाई आफूले बजेट विनियोजन गर्ने आश्वासन र पहल गर्ने प्रतिबद्धता जनाए। कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्कीले स्थानीय तहका सूचना अधिकारीले नागरिकले मागेको सूचना सहजैरुपमा उपलब्ध गराउने परिपाटी बसाल्नुपर्ने बताए। 

कार्यक्रममा संविधानसभा सदस्य राजकाजी महर्जन, बागमती प्रदेशसभाका पूर्वसदस्य दिनेश महर्जन, माओवादी केन्द्र जिल्ला अध्यक्ष शिव कट्टेल, नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य रामकृष्ण अधिकारी, उपत्यका प्रदेश महासचिव टेनिस रोका, प्रेससेन्टर उपत्यका प्रदेश इञ्चार्ज निर्मल ज्ञवाली, अध्यक्ष नवराज दाहाल तथा जनप्रतितिनिधिको उपस्थिति थियो।

प्रकाशित मिति: १३:२८ बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्