Kathmandu Press

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै कामपा

महानगरले २०८० साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ।
प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै कामपा

काठमाडौं, फागुन १२ : गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा अन्य प्रयोजनका लागि प्लास्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ। 

कामपाले अनुगमन गरी प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही गर्ने जनाएको छ। केही पार्टी प्यालेसले लुकीछिपी प्लास्टिकजन्य फूलको प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले कामपाले त्यस्ता स्थानमा निगरानी गरी प्रयोग गरेको पाइएमा कारबाही गर्ने जनाएको हो।  

Hardik ivf

महानगरले २०८० साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ। 'सहरको व्यवस्थापन, स्वच्छता र वातावरणीय सुधारका लागि कामपाले तर्जुमा गरेका कानुनी व्यवस्थाको कार्यान्वयन गराउनु हाम्रो दायित्व हो। व्यवस्थापन गर्नुपर्ने क्षेत्रको सूक्ष्म निगरानी गरिरहेका छौँ', महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने। यस प्रक्रियामा सहयोग गर्न सबैलाई आग्रह गर्दै उनले अनुरोधलाई अटेर गरेर प्लास्टिकका फूलको प्रयोग गरेको भेटिए कारबाही गरिने बताए।

प्लास्टिकजन्य वस्तुका कारण सृजित फोहर घटाउन तथा वातावरणलाई स्वच्छ बनाउने उद्देश्यले महानगरले प्लास्टिकका फूलसँगै ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउँदै आएको नगर प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले जानकारी दिए। 'सामान्यतयाः ४० माइक्रोनभन्दा पातला झोला पुनः प्रयोग गरिँदैनन्। यसलाई कि जलाइन्छ, कि वातावरणमा फालिन्छ वा फोहरको पोको बनाएर बाहिर निकालिन्छ। यसरी जुनसुकै कारणबाट बाहिर निस्किए पनि यसले वातावरणमा नकारात्मक असर गर्दछ', पाण्डेले भन्नुभयो। 

स्रोतबाटै वर्गीकरण गरी कम्पोष्ट मल बनाइने 
 
कामपाले फोहरको स्रातेबाटै वर्गीकरण गरी कम्पोष्ट मल बनाउने कार्यको थालनी गरेको छ। ३२ वडा रहेको कामपाले वडा नं २७ बाट सङ्कलन गरिएका करिब १४ हजार किलोग्राम जैविक फोहर टेकु ट्रान्सफर स्टेसनमा कम्पोष्टिङ गरेको कामपा वातावरण विभागले जनाएको छ।

फोहरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएका फोहरलाई छुट्टै सङ्कलन र व्यवस्थापन गरिदैँ आइएको विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी वडा नं २७ बाट गरिएको हो। आगामी दिनमा सबै वडाबाट यस कार्यलाई निरन्तरता दिन तयारी भइरहेको कामपाले जनाएको छ।

वडा नं २७ को फोहर वर्गीकरण गरेर गत माघ २१ गतेदेखि टेकु ल्याउन थालिएको विभागका प्रमुख श्रेष्ठले बताए। उनले सङ्कलन भएको फोहरलाई पाइल (सङ्कलन गरिएका फोहरकाे थुप्रो) गर्न थालिएको भन्दै अहिलेसम्ममा चार वटा पाइल तयार भइसकेको जानकारी दिए।

प्रकाशित मिति: १२:५१ बजे, शनिबार, फागुन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्