Kathmandu Press

पूर्वराष्ट्रपति यादवसहित चारजनालाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार

पूर्वराष्ट्रपति यादवसहित चारजनालाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार

काठमाडौं, फागुन ११ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवसहित चार जनालाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरिने निर्णय भएको छ। 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र जारी गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुभएको तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा करिब पाँच दशक निरन्तर सक्रिय योगदान गर्नुभएकोमा प्रथम राष्ट्रपति डा यादवलाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार, २०८० प्रदान गरिने निर्णय भएको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले जानकारी दिए। 

Hardik ivf

 साथै करिब आठ दशकदेखि निरन्तर लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका पूर्वमन्त्री योगप्रसाद उपाध्यायलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७९ बाट सम्मानित गर्ने निर्णय गरिएको छ। 

एबिसी नेपालका संस्थापक अध्यक्ष, विगत चार दशकदेखि निरन्तर महिला बालबालिकाको हक तथा मानव अधिकारका लागि सक्रिय तथा लोकतान्त्रिक आन्दोलनमा समेत योगदान दिएकोमा दुर्गा घिमिरे र शास्त्रीय संगीतमा साधनारत, प्रथम नेपाली महिला तवला वादक सरिता मिश्रलाई क्रमशः २०८० र २०७९ को प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारद्वारा सम्मानित गर्ने निर्णय भएको छ।

विसं २०५८ मा मानार्थ अध्यक्ष विमलेन्द्र निधि र संस्थापक अध्यक्ष भानुभक्त ढकाल रही नेपाल गौरव महेन्द्रनारायण निधिको सम्मानमा स्थापित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले २०७० देखि अहिंसा, लोकतन्त्र, सामाजिक न्याय, समुदायबीच सद्भाव, सामाजिक जागरणमा सक्रिय व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ। 

केही वर्षयता पुरस्कार राशीमा थप गरी प्रत्येक पुरस्कारको राशी रु एक लाख एक हजार बनाइएको छ। यसअघि विभिन्न क्षेत्र र विधाका ३० जना व्यक्तित्वहरू पुरस्कारद्वारा सम्मानित भइसक्नुभएको छ। उक्त पुरस्कार तथा सम्मान यही फागुन १३ गते निधिको १०३औं जन्मजयन्तीका अवसरमा प्रदान गरिने छ। 

पुरस्कार चयनका लागि नेपाल सरकारका पूर्वमुख्य सचिव डा विमल कोइरालाको संयोजकत्वमा पूर्वराजदूत डा दिनेश भट्टराई, प्रा डा कुमार कोइराला, प्रा नवेन्द्र निधि सदस्य रहनुभएको निर्माण भएको थियो। 

प्रकाशित मिति: १६:२८ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्