प्राधिकरणले थप्यो १७ सय पुनर्निर्माण लाभग्राही
काठमाडौं, चैत ४ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार ३ सय ८५ गुनासो सम्बोधन गरी १७ सय ५ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेक....

काठमाडौं, चैत ४ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार ३ सय ८५ गुनासो सम्बोधन गरी १७ सय ५ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले ४ सय ८५ प्रवलीकरण लाभग्राही पनि थप गरेको हो। योसँगै पुनः जाँच तथा छुट सर्वेक्षण २०७५ एवं २०७६ बाट सङ्कलित १ लाख ८९ हजार गुनासोमध्ये १ लाख ८२ हजार ३ सय १ को नतिजा आएको छ।
नतिजाअनुसार १७ हजार १ सय ६ पुनर्निर्माण लाभग्राही र ८ हजार ३ सय ८ प्रवलीकरण लाभग्राही कायम भएका छन्। बाँकी गुनासोको चैत मसान्तभित्र विश्लेषण गरी नतिजा प्रकाशित गरिने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए।
त्यसैगरी, कार्यकारी समितिले ३ सय ५९ प्रवलीकरण लाभग्राहीलाई पुनर्निर्माण लाभग्राही कायम गर्ने निर्णय पनि गरेको छ। प्राधिकरणले गुनासो सम्बोधनको नतिजा जान्नका लागि गुनासोकर्तालाई आ–आफ्नो स्थानीय तहमा सम्पर्क राख्न आग्रह गरेको छ।
आफू लाभग्राही भई अनुदान पाउन योग्य छु भन्ने लागेमा गैरलाभग्राही कायम भएका गुनासोकर्ताले पुनरावेदन गर्न सक्ने छन्।











