‘सबै जात, धर्म, सम्प्रदायबीचको समभाव गणतन्त्रको मूल लक्ष्य हो’
स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सु–सम्बन्धमा आधारित समाजको निर्माण गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक, सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेम उनले जोड दिए।
अछाम, फागुन १० : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएकाले यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति, सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने बताएका छन्।
अछाममा वैद्यनाथधाम कोटीहोम महायज्ञसहितको महाकुम्भ मेलाको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सबै जात, जाति, धर्म, सम्प्रदाय, भाषाभाषीबीचको समभाव र एकता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल लक्ष्य भएको बताए।
‘सबै धर्म, संस्कृतिको संरक्षण गर्ने संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ,’ उनले भने, ‘अधिकारका विभिन्न किसिम उल्लेख गरेर सबैले अधिकारको स्वतन्त्रता उपयोग गर्ने विषय सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो।’
उनले कोटीहोम प्रारम्भ भएको आजको यस पवित्र दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको त्यही दर्शनलाई सार्थक रूप दिन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सु–सम्बन्धमा आधारित समाजको निर्माण गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक, सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेम उनले जोड दिए।
यस क्षेत्रको विकास, संरक्षण र संवर्द्धनका लागि विगतमा वैद्यनाथ क्षेत्र विकास संस्थाको गठन भई सरकार तथा जनसहभागिताबाट मन्दिर पुनःनिर्माणलगायत काम हुनु खुसीको कुरा भएको राष्ट्रपति पौडेलको भनाइ थियो।
उनले यस क्षेत्रको समग्र विकासका लागि विस्तृत अध्ययन गरी गुरुयोजना तयार गरेर अल्प, मध्य र दीर्घकालीनरूपमा नै पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
तीनै तहका सरकारले बजेट, नीति तथा कार्यक्रमभित्र समावेश गरी यस्ता धार्मिक एवं ऐतिहासिक क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास गरी देश विकासमा योगदान पुर्याउन सकिने राष्ट्रपति पौडेलको भनाइ थियो।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
