एमाले बैठकस्थलमा प्रविधि प्रदर्शनी
प्रदर्शनीको बुधबार पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरूले अभिरुचिपूर्वक अवलोकन गरी प्रविधिबारे जानकारी लिएका थिए।
काठमाडौँ, फागुन १० : नेकपा एमालेको जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकस्थलमा सो पार्टीको केन्द्रीय विज्ञान तथा प्रविधि विभागले पार्टी केन्द्रीय कार्यालय, च्यासल परिसरमा ‘प्रविधि प्रदर्शनी’ आयोजना गरेको छ।
सो विभागका सचिव सञ्जिव रोकाहाले विकास र समृद्धिका साथै प्रविधिलाई पनि पार्टीले महत्व दिनुपर्ने सोचलाई स्थापित गर्न प्रदर्शनी आयोजना गरिएको बताए। प्रदर्शनीमा विभिन्न प्रविधि कम्पनीले सहभागिता जनाएका छन्।
प्रविधि कम्पनी रामलक्ष्मणको डिजिटल ठेगाना कता हो भन्ने जानकारीका साथै ड्रोन रोबटको प्रदर्शनी, लघुउद्यमसम्बन्धी नेपालमै मेसिन बनाउने भूमि सप्लायर्स कम्पनीका दुनाटपरी बनाउने मेसिन, फाइबर उत्पादन, केराका पातबाट डोरी बनाउने मेसिन, गल्लीको नक्साबारे जानकारी, अग्र्यानिक कृषि औषधि र मिनी हाइड्रोबारे जानकारी दिने कक्षा राखिएको रोकाहाले बताए।
प्रदर्शनीको बुधबार पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरूले अभिरुचिपूर्वक अवलोकन गरी प्रविधिबारे जानकारी लिएका थिए।
स्वास्थ्य सहायता कक्ष
एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी नेताहरूको प्राथमिक स्वास्थ्य परीक्षणका लागि बैठकस्थलमा स्वास्थ्य सहायता कक्ष राखिएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घले राखेको सहायता कक्षबाट नेताहरूले रक्तचापको अवस्था, मधुमेह र अन्य प्राथमिक उपचार सेवा लिएको छ भने औषधिसमेत उपलब्ध गराइएको छ।
महासङ्घका अध्यक्ष डा झलक गौतमलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराइरहेको एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ। यही फागुन ८ गतेदेखि सुरु भएको एमालेको बैठक आज सकिँदैछ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
