Kathmandu Press

राष्ट्रपति पौडेलद्वारा ५५५५ किलोको मुक्तिनाथ महाघण्ट उद्घाटन

राष्ट्रपति पौडेलद्वारा ५५५५ किलोको मुक्तिनाथ महाघण्ट उद्घाटन

बागलुङ, फागुन १० : राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा स्थापना गरिएको पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्ट उद्घाटन गरेका छन्। बिहीबार राष्ट्रपति पौडेलले करिब २ करोड रूपैयाँ लागतमा निर्माण भएको महाघण्टको उद्घाटन गरेका हुन्।

पञ्चकोटधामका परिकल्पनाकार एवं संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यो महाघण्ट स्थापना गरिएको थियो। पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सुरु भएको छ।

Hardik ivf

फागुन ९ देखि सुरु भएको महायज्ञमा पनि राष्ट्रपति पौडेल सहभागी भएका छन्। सो क्रममा पौडेलले सोहि स्थानमा बन्दै गरेको १०८ फिट गण्डकी कलशकोसमेत अवलोकन गरे। १० वर्षअघि स्थापना भएको पञ्चकोटमा निर्माण भएका धार्मिक संरचनाका साथै निर्माणाधीन सो कलसका बारेमा स्वामी कमलनयनाचार्यले राष्ट्रपति पौडेललाई जानकारी गराए।

मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्ट’ भनिएको हो । महाघण्ट बनाउन आठ वर्ष लागेको जानकारी पनि स्वामी कमलनयनाचार्यले बताए। जलसम्पदाको संरक्षण गर्न सो कलश तथा विश्वमा शान्तिको सन्देश फैलाउन सो महाघण्टको स्थापना गरिएको उनले जानकारी दिएका हुन्।

२०७२ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो। पञ्चकोटमा अहिलेसम्म सिसमहल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् । विभिन्न दाताको सहयोग, महायज्ञबाट सङ्कलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले अहिले पञ्चकोट देशव्यापीरूपमा चर्चित बनेको छ।  पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्ट राखिएको छ। 

प्रकाशित मिति: १३:२८ बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्