गलत आर्थिक नीतिको कारण अर्थव्यवस्था सीमित व्यक्तिको हातमा पर्न गएको छ : चन्द्र भण्डारी
‘हामीले बहुदलीय व्यवस्था प्राप्त गरेको ३४ वर्ष भयो । तर आर्थिक रुपमा यो संसदमा बारम्बार प्रश्न उठिरहेको छ, किन १०/१२ जनाको हातमा अर्थ व्यवस्था गयो ?’ उनले भने।
काठमाडौं, फागुन १० : कांग्रेस सांसद चन्द्र भण्डारीले नेपालको आर्थिक नीति गलत भएको बताएका छन्।बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले गलत आर्थिक नीतिको कारण अर्थव्यवस्था सीमित व्यक्तिको हातमा पर्न गएको उनले दाबी गरे।
‘हामीले बहुदलीय व्यवस्था प्राप्त गरेको ३४ वर्ष भयो । तर आर्थिक रुपमा यो संसदमा बारम्बार प्रश्न उठिरहेको छ, किन १०/१२ जनाको हातमा अर्थ व्यवस्था गयो ?’ उनले भने।
अर्थतन्त्रका एकभन्दा बढी क्षेत्रमा एकै व्यक्तिको स्वामित्व रहनु गलत भएको उनकाे भनाइ थियाे। ‘उसैको हातमा बैंक छ, उसैको हातमा उद्योग छ, उसैको हातमा बीमा छ, उसैको हातमा जलस्रोतको लाइसेन्स छ। उसैको हातमा हस्पिटल छ, उसैको हातमा स्कुल छ, उसैको हातमा जमिन खन्ने लाइसेन्स छ।' यसरी देश बन्न नसक्ने उनकाे भनाइ थियाे।
विकास आयोजनाहरु कहिल्यै समयमै सम्पन्न नभएकोमा पनि उनले चिन्ता व्यक्त गरे। उनले मेलम्ची आयोजना र सडक आयोजनाहरु समयमा पूरा नहुँदा पनि कसैलाई कारबाही नभएको भन्दै सरकारकाे ध्यानाकर्षण गराए।
विगतमा कांग्रेस नेतृत्वकै सरकारले निजीकरण सुरु गरेको उनले बताए। निजीकरण उद्योग सञ्चालनका लागि भए पनि त्यसकाे दुरूपयाेग भएकाे उनले बताए। 'बाँसबारीको जग्गा बेच्नका निम्ति गरेका थिएनौं। भृकुटी कारखाना, हेटौंडा कपडा उद्योग, जुट मिललाई पनि राम्ररी सञ्चालनका लागि निजीकरण गरिएको थियाे। आज यी सबै लथालिंग र भताभुङ्ग भएका छन्।’
उgले मुलुकमा बिचौलियाको बिगबिगी रहेकाले किसान थप पीडामा रहेको बताउँदै उमेर पुगेका काठ पनि कटान गर्न नसक्ने नीति हुँदा मलेसियाबाट काठ आयात गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे। स्वदेशी उत्पादन नहुँदा सरकारी कर्मचारीकै लागि अर्बौको पोशाक आयात गर्नुपर्ने स्थिति, स्वदेशको कोदोको रक्सीले बजार नपाएर विदेशी मदिरा टोलटोलमा बिक्री गरिएको, युवा पलायन रोक्न, लगानीमैत्री तथा काम गर्ने वातावरण बनाउने गरी विशेष कार्यक्रम ल्याउन नसकिएको विषयमा चिन्तन गर्न ढिला भएको भनाइ राखे।
सांसद भण्डारीले मुलुकको धार्मिक तथा पुरातात्विक संरचनाको बजारीकरण गर्नुपर्ने र पर्यटनलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै यस्ता विषमया सबै दल एकढिक्का भएर लाग्न आग्रह गरे।
सांसद चन्द्र भण्डारीले बाँदर नियन्त्रणका लागि बन्ध्याकरण गर्ने भन्दै भएका बहसप्रति पनि आश्चर्य प्रकट गरेका छन्। सल्ला लगाएर जंगल बनाएर चिउरीसहितका वनस्पति मासिएपछि बाँदर गाउँ आएको उनको भनाइ थियो। 'किसानको बाली खाने बाँदरलाई बन्ध्याकरण गर्ने रे।।।सभामुख महोदय, किसानको अनुदान खाने बाँदरलाई के गर्ने?,' सांसद भण्डारीले भने, 'विदेशीले जे भन्छन् त्यही गर्दा यो अवस्था आएको हो।'











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
