उपकुलपति नियुक्ति प्रक्रिया माओवादीको गुटगत लडाइँको मारमा : योगेश भट्टराई

काठमाडौं, फागुन १० : एमाले सांसद योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया माओवादी केन्द्रको गुटगत लडाइँको मारमा परेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै उनले त्रिभुवन विश्वविद्यालयमा गत कात्तिक १८ गतेदेखि उपकुलपति पद रिक्त रहेको र उपकुलपतिजस्तो पदको अन्तर्वार्ता शिक्षामन्त्री र सचिवले लिइने प्रवृत्ति गलत भएकाले स्वतन्त्र र निष्पक्षरूपमा उपकुलपति छनोट गर्न माग गरे।
प्रधानमन्त्रीले तटस्थ भएर त्रिविको उपकुलपति नियुक्त गर्ने भने पनि न्यूनतम प्रक्रियासमेत पालना नगरेको भट्टराईकाे भनाइ थियाे।
उनले पार्टीका नेताहरू सिफारिस समितिमा बसेका र उपप्राध्यापकले उपकुलपति हुने व्यक्तिको अन्तर्वार्ता लिएको जिकिर गरे। 'विशिष्ट प्रक्रिया अपनाउँछु भन्दै उपकुलपति नियुक्तिको प्रक्रिया थाल्नुभएका प्रधानमन्त्रीले पार्टीका नेताहरूलाई सिफारिस गराएका छन्। सिफारिस भएका व्यक्तिको अन्तर्वार्ता उपप्राध्यापकले गरेका छन्,' सांसद भट्टराईले भने, 'उपकुलपतिको अन्तर्वार्ता उपप्राध्यापकले गर्छ रु माओवादीको गुटगत झगडाको मारमा उपकुलपति नियुक्ति पर्दैछ।'
उनले अहिलेको नियुक्ति प्रक्रिया गलत भएको भन्दै तत्काल त्यो रद्द गरेर नयाँ थाल्न पनि माग गरे ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
