प्रतिपक्षको आवाज नसुने सदन र सडकमा आन्दोलन : विराजभक्त श्रेष्ठ
उनले बालकुमारी घटनाबारे शंकाको सुविधा दिंदा पनि प्रधानमन्त्रीले केही नगरेको भन्दै संसदप्रति सरकार जवाफदेही नभएको बताए।
काठमाडौं, फागुन १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले सरकारले प्रतिपक्षको कुरा नसुन्ने हो भने संसद अवरुद्ध हुने चेतावनी दिएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले यसरी सदनको कुरा नसुन्ने हो भने सदन मात्रै होइन सडक पनि अवरुद्ध हुने भन्दै सरकारले प्रतिपक्षले सदन चल्न दिएन भनेर दोष लगाउन नपाउने बताए।
उनले भने, ‘सरकारलाई चेतावनी पनि दिन चाहन्छु, यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद अवरुद्ध पनि हुन्छ। आन्दोलन पनि हुन्छ। तर सरकारले प्रतिपक्षले सदन चल्न दिएन भनेर दोष लगाउन पाउनेछैन्। यसरी नै सरकारले अन्सुना गर्ने हो भने सदन मात्रै होइन सडक पनि अवरुद्ध हुन्छ। यसको साथै मिटर ब्याजीको पनि उत्तिकै कुरा उठेको छ यस्तो कुराहरुको समाधान छिटोभन्दा छिटो भएन भने हामी प्रतिपक्षको तर्फबाट जे पनि गर्न सक्छौ।’
यस्तै, उनले बालकुमारी घटनाबारे शंकाको सुविधा दिंदा पनि प्रधानमन्त्रीले केही नगरेको भन्दै संसदप्रति सरकार जवाफदेही नभएको बताए। उनले भने, ‘बालकुमारी घटनाको बारेमा हामीले शंकाको सुविधा दिएर प्रधानमन्त्रीले प्रतिवेदन पढ्नुहुन्छ र केही गर्नहुन्छ भन्ने अपेक्षा गरिएको थियो। अझसम्म केही भएको छैन। त्यो प्रतिवेदनको उनको अध्ययन कहाँ पुग्यो ? तीन दिन भईसकेको छ त्यो प्रतिवेदन के भयो ? यो दण्डहिनताको पराकाष्ट हो, संसदप्रति नै सरकार जवाफदेही हुदैँन भने मुलुकले कस्तो, नेतृत्व पाइरहेको छ। प्रतिवेदन कति लामो छ, पढ्न गार्हो लागेको भए यहाँ हामी बाचन गरेर सुनाइदिन्छौ।’











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
