Kathmandu Press

२३ दिन पैदल हिँडेर मिटरब्याजपीडित राजधानी आइपुगे, आज सिंहदरबार मार्च

मिटर ब्याजी साहूको पासोबाट छुटकारा पाउन माग गर्दै २३ दिनको पैदल यात्रापछि बुधबार साँझ थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन् । माघ १६ मा यात्रा थालेयता निरन्तर सडकमै गाँसबास गरेर आएका उनीहरूले बुधबार राति त्रिभुवन पार्कमा चिसो भुँइमा रात कटाए ।
२३ दिन पैदल हिँडेर मिटरब्याजपीडित राजधानी आइपुगे, आज सिंहदरबार मार्च

काठमाडौं, फागुन १० : न्यायको माग गर्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलमार्चमा निस्किएका चार हजार मिटरब्याजपीडितहरू बुधबार काठमाडौं आइपुगेका छन् ।

मिटर ब्याजी साहूको पासोबाट छुटकारा पाउन माग गर्दै २३ दिनको पैदल यात्रापछि बुधबार साँझ थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन् । माघ १६ मा यात्रा थालेयता निरन्तर सडकमै गाँसबास गरेर आएका उनीहरूले बुधबार राति त्रिभुवन पार्कमा चिसो भुँइमा रात कटाए ।

उनीहरूले आज बिहीबार सिंहदरबार मार्च गर्दैछन् । सरकारलाई झक्झकाउन र न्यायका लागि दबाब दिन थानकोटदेखि सिंहदरबारसम्म पैदलमार्च गर्ने कार्यक्रम रहेको मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका प्रवक्ता नीर्ग नवीनले बताए ।

Hardik ivf

‘हामी तीन वर्षदेखि संघर्षमा छौँ । पटक-पटक आन्दोलन गर्नुपरेको छ । सरकारसँग बार्ता पनि भएको छ । तर सरकारले हामीलाई न्याय दिन चाहेको छैन,’ उनले भने, ‘सरकारले जाँचबुझ आयोग बनायो, ३० हजार पीडितको उजुरी लियो । तर कारबाही गरेन । त्यहीकारण हामी फेरि संघर्षमा उत्रिनु परेको छ ।’

उनले तराईका २० जिल्ला र भित्री मधेशका आठ गरी २८ जिल्लाका पीडितहरूले यसपटक एकसाथ देशव्यापी पैदलमार्च गरेको बताए । उनीहरूले ६ प्रदेशका २३ जिल्ला पार गरेर काठमाडौं आइपुगेका हुन् ।

‘बिहीबार थानकोटदेखि सिंहदरबारसम्म मार्च गर्छौ । शुक्रबार ऐक्यबद्धता सभा हुन्छ,’ प्रवक्ता नवीनले भने, ‘ऐक्यबद्धता सभामा सबैलाई सहभागी भएर ऐक्यबद्धता जनाउन हाम्रो आग्रह छ ।’

समितिले मिटरब्याजपीडित किसान, मजदुर, साना व्यवसायी र सबै खाले वित्तीय शोषणबाट उत्पीडितहरूको न्यायका लागि संस्थागत र व्यक्तिगत  प्रतिनिधित्वसहित मिटरब्याजपीडितविरुद्धको न्याय मार्चलाई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ । 

सरकारले यसअघि मिटर ब्याजपीडितका समस्या सम्बोधन गर्न जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले पाँच हजार पीडितका समस्या सुल्झाएपनि बाँकीका समस्याको जानकारी मात्रै बटुलेर सरकारलाई प्रतिवेदन बुझाएको छ ।

तर सरकारले सो प्रतिवेदनमाथि कुनै कारबाही अघि बढाएको छैन । सम्झौताबमोजिम सरकारले कुनै काम पहल नगरेपछि आफूहरू फेरि संघर्षमा उत्रिनु परेको समितिका अध्यक्ष अवधेशकुमार कुशवाहाले बताए । 

मिटरब्याजपीडितहरू यसअघि गत चैतमा पनि पैदलै काठमाडौं आएका थिए । त्यतिखेर सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो ।
 

प्रकाशित मिति: ०८:३३ बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्