गठबन्धनका विषयमा कांग्रेस जिल्ला सभापतिहरू दुई धारमा
‘गठबन्धनका विषयमा अहिले हतार गर्न आवश्यक छैन। यसले इलाममा उपनिर्वाचन हुँदैछ, त्यहाँ पनि असर गर्छ। गठबन्धनकै कारण ७ प्रदेशमा सरकारमा छौं,’ झापाका सभापति देउमान थेवेले भने।(22)-1708514187.jpg)
काठमाडौं, फागुन ९ : ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा कांग्रेस जिल्ला सभापतिहरू चुनावी गठबन्धन गर्ने वा नगर्ने विषयमा दुई धारमा देखिएका छन्।
एकथरी सभापतिले रणनीतिक बिषय भएकाले महासमितिले कुनै निर्णय लिन नहुने बताएका छन् भने अर्काथरीले गठबन्धन नगर्ने प्रस्ताव पारित गर्नुपर्ने धारणा राखेका छन्।
झापाका सभापति देउमान थेवेले गठबन्धनको कुरा अहिले उठान गर्नु अप्रासांगिक हुने बताए। उनले गठबन्धनको विषय ०८३ सालतिर गर्नु उपयुक्त हुने धारणा राखे।
‘गठबन्धनका विषयमा अहिले हतार गर्न आवश्यक छैन। यसले इलाममा उपनिर्वाचन हुँदैछ, त्यहाँ पनि असर गर्छ। गठबन्धनकै कारण ७ प्रदेशमा सरकारमा छौं,’ उनले भने।
स्याङ्जाका सभापति राजु थापाले पनि जनताको म्यान्डेट अनुसार गठबन्धन गरिएको बताए। थापाले चार वर्षपछि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय अहिले नै निर्णय गर्नुपर्छ भन्नु उपयुक्त नभएको धारणा राखे। एमाले अहिले गठबन्धन तोड्ने रणनीतिमा रहेको बेला गठबन्धन सरकारमा रहेको ठूलो दलको हिसावले कांग्रेसले गठबन्धनबारे बोल्न उपयुक्त नरहेको भनाई थापाको थियो।
सुनसरी सभापति केदार भण्डारीले आफ्नो स्वार्थ अनुकुल गठबन्धन ठिक र बेठिक भन्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए। कोशीमा कांग्रेसले गठबन्धन गरेर गल्ती नगरेको धारणा उनको थियो।
धनुषाका सभापति योगेन्द्र पन्जियारले गठबन्धनका कारण मधेशमा कांग्रेस कमजोर भएको बताए। उनले गठबन्धन नगर्नेबारे महासमिति बैठकले प्रष्ट निर्णय लिन समेत माग गरे। ‘गठबन्धनले सत्ता त प्राप्त होला, तत्कालीन लाभ हुनसक्छ, तर पार्टी बन्दैन,’ उनले भने।
रौतहट सभापति सुनीलकुमार यादवले गठबन्धन राणनीतिक कुरा भएकाले अहिले निर्णय गर्न आवश्यक नभएको बताए। उनले गठबन्धन राजनीतिक स्थायित्वको लागि गरिएको समेत बताए। सर्लाहीका सभापति सुरेन्द्र सिंहले पनि यो बेला गठबन्धनको बारेमा नीतिगत निर्णय गर्नु अनावश्यक भएको उल्लेख गरे।
कैलाली सभापति नारायणदत्त भट्टले गठबन्धन नगर्ने या नगर्ने भन्ने निर्णय अहिले नै गर्ने समय नभएको बताए। ‘भावनामा बगेर काम गर्दा पछुताउनुपर्ने परिस्थिति हुन सक्छ,’ उनले भने, ‘गठबन्धन तत्कालीन आवश्यकता हो, ०८४ सम्म देशमा के–के हुन्छ ? कम्युनिष्टहरु एक हुन्छौ भनेका छन्, अनि के हुन्छ?’
अर्का पर्सा सभापति जनार्दश सिंह क्षेत्रीले पनि गठबन्धनबारे अहिले नै बोल्न आवश्यक नभएको बताए। ‘२०७४ मा गठबन्धन नगर्दा पार्टीको कुन हालत थियो भन्ने कुरा बुझ्न आवश्यक छ,’ क्षेत्रीले भने।
सिरहाका सभापति रामचन्द्र यादवले भने सरकारमा जान गठबन्धन अनिवार्य भए पनि चुनावअघि गरिने गठबन्धन आवश्यक नभएको जिकिर गरे। चुनावी गठबन्धनका कारण मधेशमा कांग्रेस कमजोर बनेको उनको भनाई थियो ।
धनकुटा सभापति दिनेश राईले चुनावी गठबन्धन गर्न नहुने धारणा राखे। गोरखा सभापति नन्दप्रसाद न्यौपानेले चुनावी गठबन्धनका कारण कांग्रेस अहिले आफ्नो खुट्टामा आफैँ उभिन नसक्ने अवस्थामा पुगेको धारणा राखे । धादिङ सभापति रामनाथ अधिकारीले गठबन्धनका कारण पार्टीमा निराशा छाएको बताए।
नवलपरासी सभापति महेन्द्र जिसीले सुर्खेतका कार्यबाहक सभापति टोपबहादुर रावतले कांग्रेसको नीति सहकार्यको भएको उल्लेख गर्दै गठबन्धन के गर्ने भनेर नीति नै बनाएर अघि बढ्न नहुने बताए। जुम्लाका सभापति कर्णबहादुर शाहीले गठबन्धन गर्ने वा नगर्ने भनेर निर्णय गर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिनुपर्ने माग गरे।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
