‘गठबन्धन जतिबेला आवश्यक पर्छ प्रयोग गर्ने रणनीति हो’
नेता चन्द्र भण्डारीले सरकारमा बसेर जनतालाई राम्रो काम गरेर देखाउनुपर्ने बेलामा आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर अल्झिने अवस्था नरहेको बताए।
काठमाडौं, फागुन ९ : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले दलीय गठबन्धन कुनै सिद्धान्त नभएर रणनीति भएकाले आवश्यक परेको बेला प्रयोग गर्ने माध्यम रहेको बताएका छन्।
ललितपुरमा जारी पार्टीको महासमिति बैठकस्थलमा बुधबार सञ्चारकर्मीहरुसँग उनले सरकारमा बसेर जनतालाई राम्रो काम गरेर देखाउनुपर्ने बेलामा आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर अल्झिने अवस्था नरहेको बताए।
मंगलबार बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको प्रतिवेदनमा दलीय गठबन्धनलाई निरन्तरता दिने/नदिनेमा पार्टीले पुनर्विचार गर्नुपर्ने भनाइ राखेका थिए। उनको प्रतिवेदनपछि पार्टीमा गठबन्धनको विषय बहसमा छ।
नेता भण्डारीले वर्तमान सत्ता गठबन्धन समयको आवश्यकता भएको जिकिर गरेका छन्।
‘गठबन्धनका कुराहरु सिद्धान्त होइन, रणनीति हुन् । रणनीति जतिबेला पनि गर्नुपर्छ भन्ने छैन। जतिबेला आवश्यक पर्छ त्यतिबेला प्रयोग गर्ने हो,’ उनले भने, ‘अहिले उहाँहरु सरकारमा बसेर जनतालाई राम्रो काम गरेर देखाउनुपर्ने बेला हो, त्यसैले गठबन्धन गर्ने कि नगर्ने भनेर अल्झिने बेला होइन। गठबन्धन गरेर आयौं, जनतामाझ कांग्रेसलाई मजबुत बनाउनुप¥यो । चुनावमा एक्लै लड्ने बनाउनुप¥यो, त्यो ४ वर्ष पछिको कुरा हो त्यसमा अल्झिनपर्ने केही छैन।’
उनले वैदेशिक रोजगार अहिले चूनौतीपूर्ण बन्दै गएको भन्दै सरकारले त्यसतर्फ गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए। उनले भने, ‘अहिले हामी चलेको बाटोले युवायुवती नेपाल नै नबस्ने भए नि । यो कति ठूलो चुनौती छ । यो चुनौतीलाई हामीले रोक्न पर्यो नि।’











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
