महासमिति बैठकमा कोशीका १४ सभापतिहरुको १६ बुँदामा साझा धारणा

काठमाडौं, फागुन ९ : कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशका १४ जिल्ला सभापतिहरुले १६ बुँदामा साझा धारणा राखेका छन्।
१४ जिल्ला सभापतिहरुले मुख्यमन्त्री तथा प्रधानमन्त्री दुई पूर्ण कार्यकाल हुन पाउने, संघको उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीका साथै प्रदेशमन्त्री र राज्यमन्त्री समेत एक तहमा बढीमा तीन कार्यकाल हुन पाउने, संघीय सांसद र प्रदेश सांसद एक तहमा बढीमा चार कार्यकाल हुन पाउने, कुनै तहको सांसदको कार्यकालको बीचमा समानुपातिक भएमा सो समेत कार्यकालमा गणना हुने व्यवस्था गर्नुपर्नेलगायत साझा धारणा बनाएका छन्।
महासमिति बैठकमा कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, खोटाङ सभापति विष्णुकुमार राई, उदयपुर सभापति हिमाल कार्की, झापा सभापति देउकुमार थेवे, सङ्खुवासभा सभापति दीपक खड्का, सुनसरी सभापति केदार भण्डारी, ओखलढुङ्गा सभापति तेजेन्द्र खनाल, सोलुखुम्बु सभापति नामगेल जाम्बु शेर्पा, तेह्रथुम सभापति अर्जुन तुम्बाहाम्फे, इलाम सभापति डम्बर खड्का, धनकुटा सभापति दिनेश राई, भोजपुर सभापति विनोद राई वान्तवा र ताप्लेजुङ सभापति गजेन्द्र तुम्बाहाङको तर्फबाट संयुक्त धारणा राखिएको हो।
उनीहरुले दुईभन्दा बढी संघीय सांसद क्षेत्र भएको जिल्लाको हकमा स्थानीय तहको गाउँ तथा नगर सदस्य, वडाध्यक्षको टिकट वितरण गर्न नगर, प्रदेशसभा क्षेत्र, प्रतिनिधीसभा क्षेत्र समितिको सिफारिसका आधारमा जिल्ला संसदीय समितिले वितरण गर्ने व्यवस्था गर्नुपर्ने, संसदीय समितिमा सम्बन्धित क्षेत्रको क्षेत्रीय सभापति सदस्यका रुपमासमेत रहने व्यवस्था गर्नुपर्ने सहितका १६ बुँदामा साझा धारणा राखेको जनाइएको छ।
यस्तै पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधि स्थानीय तह, प्रदेश र संघहरुले आफूसँग सम्बन्धित समिति र जिल्ला कार्यसमितिमा कम्तीमा दुई महिनामा एकपटक लिखित प्रतिवेदन बुझाउनुपर्ने, पार्टीविरुद्ध लागेका पार्टीका क्रियाशील सदस्यलाई प्रमाणसहित उजुर गरेको अवस्थामा जिल्ला अनुशासन समितिले निलम्बन गर्न सक्ने व्यवस्था गर्न पनि साझा धारणामा माग गरिएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
