Kathmandu Press

४५ प्रतिशत क्षयरोगका बिरामी उपचारभन्दा बाहिर

उनले निःशुल्क औषधि, परीक्षण र उपचार गर्दा पनि यति ठुलो सङ्ख्यामा बिरामी उपचारमा नआउनु क्षयरोग नियन्त्रणमा चुनौती थपिएको बताए।
४५ प्रतिशत क्षयरोगका बिरामी उपचारभन्दा बाहिर

काठमाडौं, फागुन ८ : क्षयरोगका ४५ प्रतिशत बिरामी उपचारभन्दा बाहिर रहेको पाइएको छ। राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले रोग पहिचान भएकामध्ये अझै ४५ प्रतिशत बिरामी उपचारको दायरामा ल्याउन नसकिएको बताए। 

उनले निःशुल्क औषधि, परीक्षण र उपचार गर्दा पनि यति ठुलो सङ्ख्यामा बिरामी उपचारमा नआउनु क्षयरोग नियन्त्रणमा चुनौती थपिएको बताए। उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नयाँ भेटिएका ७१ हजार सात सय बिरामीमध्ये करिब ३२ हजार बिरामी उपचारको दायरामा ल्याउन नसकिएको हो। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले उपचारको दायरामा आउन नसकेको बिरामीले आगामी वर्ष बजेटमा समेट्ने बताए। 'उपचारको दायरा नआएका बिरामीले परिवार र समाजमा क्षयरोग सारिरहेका छन्,' उहाँले भन्नुभयो, 'आगामी वर्ष बजेटमा ती बिरामीलाई उपचार ल्याउने बजेट विनियोजन गरिने छ।' उहाँले स्थानीय तह र समुदायलाई परिचालन गरेर क्षयरोगलाई नियन्त्रण गर्न सकिने बताए। 

Hardik ivf

नेपालमा क्षयरोगका कारण वार्षिक १७ हजार मानिसको मृत्यु हुने अनुमान गरिएको केन्द्रले जनाएको छ। क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो। क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो। क्षयरोग भएका बिरामीले खोक्दा, हाच्छिउँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ। क्षयरोगबाट ७२ प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ। यस्तै  मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि क्षयरोगले असर गर्दछ। 

केन्द्रका निर्देशक डा श्रेष्ठ क्षयरोगका बिरामीले कम्तीमा छ देखि बढीमा १२ महिनासम्म चिकित्सकको निगरानीमा बसेर औषधि सेवन गरेमा ९० प्रतिशत रोग निको हुने बताउनुहुन्छ। उहाँका अनुसार क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहमा रहेको छ। पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ। 

सरकारले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य र २०५० सम्ममा क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ। केन्द्रले छिटो र छरितो तरिकाले रोग पहिचान गर्न १५ सेन्टरबाट, एक सय १३ स्वास्थ्य संस्थाबाट, एक सय ३१ वटा यन्त्र जडान गरी रोगी पत्ता लगाउने गरेको उहाँको भनाइ छ। नेपालभरका छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोगविरुद्धको औषधि निःशुल्क उपलब्ध छ।

कुपोषण भएका, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन, मधुमेहका बिरामी, मादक पदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिममा पर्ने गर्दछन्। 

तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन्।

प्रकाशित मिति: १७:३५ बजे, मंगलबार, फागुन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्