आर्थिक क्रियाकलापको विस्तार, उत्पादन र उत्पादकत्व वृद्धि प्रमुख चुनौती : प्रवक्ता महत
अनावश्यक देखिएको संरचना खारेज नगर्ने प्रवृत्ति विद्यमान छ। वैदेशिक सहायताको उपयोग क्षमता कमजोर हुनुले उपयोग विनियोजनको औसत ५० प्रतिशत जतिमात्र रहेको छ।’
काठमाडौं, फागुन ८ : अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेस महासमिति वैठकमा प्रतिवेदन पेश गर्नेक्रममा देशको अर्थतन्त्र समस्या मुक्त भइनसकेको बताएका छन्।
गोदावरीमा जारी कांग्रेसको महासमिति बैठकमा ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै महतले यस्तो भनाई राखेका हुन्। आर्थिक परिसूचक अनुकूल भए पनि राजस्व वृद्धि अपेक्षित हुन नसक्दा सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण भएको प्रतिवेदनमा जनाइएको छ। प्रतिवेदनमा भनिएको छ, ‘अर्थतन्त्रका अधिकांश परिसूचक सकारात्मक रहेको भए पनि वास्तविक क्षेत्रमा आर्थिक क्रियाकलापहरूको विस्तार, उत्पादन र उत्पादकत्व वृद्धि गर्नु एक प्रमुख चुनौती हो।’
अर्थतन्त्र सुधार नहुनुमा पर्याप्त तयारीबिना बजेट प्रस्ताव ल्याउने कार्य पनि प्रमुख कारक भएको महतको प्रतिवेदनमा जनाइएको छ। यस्तै उनले प्रतिवेदन प्रश्तुत गर्दै सार्वजनिक खर्च व्यवस्थापनमा गम्भीर खालका चुनौतीहरू रहेको पनि बताए। उनले भने, ‘अनावश्यक देखिएको संरचना खारेज नगर्ने प्रवृत्ति विद्यमान छ। वैदेशिक सहायताको उपयोग क्षमता कमजोर हुनुले उपयोग विनियोजनको औसत ५० प्रतिशत जतिमात्र रहेको छ।’ बजेट सुनिश्चित नहुँदै ठेक्का लगाउने प्रवृत्तिले अर्थतन्त्रमा थप समस्या सिर्जना गरेको पनि उनले बताए।
जलविद्युत आयोजना, कृषिको व्यावसायीकरण, पर्यटन, सूचना प्रविधिलाई प्रतिवेदनमा अर्थतन्त्र सुधारका सम्भावनाका क्षेत्रहरूका रुपमा औंल्याइएको छ। सहकारी क्षेत्रको समस्या समाधानका लागि नियामक निकाय बनाइनुपर्ने आवस्यकता पनि प्रतिवेदनमा औंल्याइएको छ। उनले नियामक निकाय ‘सेकेण्ड टाइयर इन्स्टिच्युसन’ गठन प्रक्रिया अघि बढिसकेको जानकारी पनि वैठकमा दिए। अर्थमन्त्री डा.महतको प्रतिवेदनमा सहकारी क्षेत्रका समस्याका कारण साना बचतकर्ताको रकम जोखिममा परेको उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, ‘सहकारी क्षेत्रलाई साना बचतकर्ताको बचत परिचालन गर्ने र भरपर्दो क्षेत्रको रूपमा स्थापित गर्नु चुनौती पूर्ण भएको छ। सहकारी क्षेत्रको नियामक निकाय गठन प्रक्रिया अघि बढाइएको छ। यस निकायले कार्यप्रारम्भ गरेपछि सहकारी क्षेत्रको समस्या निराकरण हुने अपेक्षा छ।’











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
