सरकार र सत्तारुढ गठबन्धन पूर्ण रूपमा असफल : ओली
नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा आज सुरु केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सरकार असफल भएकै कारण जनतामा आक्रोश थपिँदै गएको बताए।
काठमाडौं, फागुन ८ : एमाले अध्यक्ष केपी ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रूपमा असफल भएको बताएका छन्।
नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा आज सुरु केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सरकार असफल भएकै कारण जनतामा आक्रोश थपिँदै गएको बताए। सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नभएको उनको भनाइ थियो।
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षमा केही गर्न नसकेकाले अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको बताउँदै ओलीले अहिलेको सरकारको एकमात्रै एजेण्डा एमालेको विरोध गर्नु रहेको बताए।
‘अहिलेको गठबन्धन राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर छ। विकासप्रति चासो नै छैन। चालू भएका आयोजना बन्द छन्। थप कुनै योजना, आयोजना छैनन्,’ उनले भने, ‘अहिलेको गठबन्धनको उद्देश्य एमालेको विरोध गर्नु, बदनाम गर्नु हो। एमालेको चरित्र हत्या गर्नु हो।’
एमालेमाथिको प्रहार लोकतान्त्रीक अभ्यासबाट शान्तिपूर्ण तवरले प्ररास्त गर्ने उहाले बताए। ओलीले देशका लागि असफल भइसकेको गठबन्धनकै कारण जनताको आक्रोश र निराशा भयावह ढंगले बढिरहेको आरोप लगाए।
ओलीले सरकार असफल भएका कारण देश गरिबीतिर, अराजकतातिर गएको र जनतामा असन्तुष्टि बढेको उनले बताए। असन्तुष्टिले आक्रोशको रूप लिइराखेको छ।’
जारी बैठक फागुन ८, ९ र १० गते तीन दिनसम्म चल्नेछ। पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय तथा जनपरिचालन र जनदबाबका एजेन्डाहरू बैठकका कार्यसूची छन्। गठबन्धनको सरकारले राष्ट्रिय हित, जनसरोकार र सुशासनका प्रश्नमा गम्भीर विचलन देखाएको ठहर गर्दै एमालेले जनपरिचालन गर्ने र दबाव दिने अभियानलाई पनि केन्द्रीय कमिटी बैठकको एजेन्डा बनाएको हो।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
