‘नेकपाको सरकारले २०७४ पछि समय खेर फालेजस्तो छुट कांग्रेसलाई छैन’
उनले मुलुकको राजनीतिमा देखिएका समस्या तथा चुनौतीहरूको बुद्धिमत्तापूर्ण दीर्घकालीन समाधान गर्न सक्दा मात्र लोकतन्त्र संस्थागत हुने समेत बताए।
काठमाडौं, फागुन ८ : कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उपसभापति खड्काले नेपाली कांग्रेसलाई तत्कालीन नेकपाको सरकारले २०७४ सालपछिको समय खेर फालेझैं अहिलेको समय खेर फाल्ने छुट नरहेको बताएका छन् ।
उनले मुलुकको राजनीतिमा देखिएका समस्या तथा चुनौतीहरूको बुद्धिमत्तापूर्ण दीर्घकालीन समाधान गर्न सक्दा मात्र लोकतन्त्र संस्थागत हुने समेत बताए। मुलुकको राजनीतिमा देखिएका समस्या तथा चुनौतीहरूको बुद्धिमत्तापूर्ण दीर्घकालीन समस्या समाधानमा नेपाली कांग्रेस सचेत र जानकार रहेको पनि उनले बताए । ‘यस किसिमको विषम परिस्थितिलाई सम्हाल्दै अगाडि बढेको सुनौलो विगत छ । वर्तमानमा पनि त्यो अठोट र क्षमता नेपाली कांग्रेससँग मात्रै छ’ खड्काले प्रतिवेदन प्रश्तुतका क्रममा भनेका छन् ।
खड्काले आम तहमा रहेका कतिपय निराशाको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हावी हुन खोजेको पनि बताए । भर्खरै स्थिरताको लय समात्दै गरेको लोकतान्त्रिक शासन व्यवस्थाको विरुद्धमा घृणाको राजनीति र त्यही घृणाको आवरणमा केही तत्वहरू फेरि अधिनायकवाद लाद्ने असफल दुष्प्रयास गरिरहेको आरोप समेत खड्काले लगाए । ‘समस्या तथा अप्ठ्याराहरूलाई पन्छाएर मुलुकलाई सही दिशा प्रदान गर्न आर्थिक तथा भौतिक विकास गर्दै सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढ्नु पर्नेमा त्यसको ठीक विपरीत नागरिकमा थप निराशा बढाउँदै त्यही निराशाको व्यापार गर्न खोजिँदै छ,’ खड्काले वैठकमा प्रश्ताव प्रश्तुतीका क्रममा भने, ‘लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानको प्रलाप बढेर गएको छ ।’
उनले लोकरिझ्याइँ गर्नेहरूको हालको शासन व्यवस्था तथा प्रणालीप्रति कुनै पनि अपनत्व नभएको दाबी समेत गरे । उनले अघि भने, ‘न त गौरवपूर्ण इतिहास छ, न त विश्वस्त भविष्य । न त लोकतन्त्र प्रतिको प्रतिबद्धता छ, न त भावी यात्राको प्रष्ट मार्ग चित्र नै । यिनीहरू सस्तो लोकप्रियताको नाममा समाजमा वितृष्णा र निराशाको राजनीतिक खेती गर्न प्रयत्नशील छन् ।’ निराशा बेच्दै काल्पनिक सपनाको हावाहुरीमा परिवर्तन उल्टाएर एकाधिकार लाद्न खोजेको भनाई समेत उनले राखे । अधिनायकवादीको प्राप्त उपलब्धिमा कुनै अपनत्व नभएको, राष्ट्रको वृहत्तर हितको दायित्व बोध र जिम्मेवारी समेत नरहेको समेत उनले बताए ।
‘राजनीतिक दल र सरकारको काम गर्ने तौरतरिका तथा शैलीप्रति आम नागरिकको गुनासो, असन्तुष्टि तथा चित्त दुखाइ छ । यस्ता समस्यालाई व्यवस्थासँग जोडेर परिवर्तन विरुद्ध आवाज उठाउनेहरू पनि देखिएका छन्,’ खड्काको भनाई छ, ‘राजनीतिक पुनरुत्थानको यो कुचेष्टा गैरजिम्मेवार र असान्दर्भिक सोच हो । इतिहासको अपव्याख्याले केवल भ्रम दिन्छ, सत्य दिँदैन । पुनरुत्थानको प्रयास जस्तो देखिने सडककर्म खासमा प्रयास होइन, यो केवल अर्थहीन कुचेष्टा मात्रै हो ।’
’पछिल्लो निर्वाचनपछिको यो समय खेर नजाओस् भन्नेमा कांग्रेस दृढ छ । वि.सं. २०६२÷०६३ को जनआन्दोलनको आहृवान गर्दा नै नेपाली कांग्रेसले आम नागरिकसँग भनेको थियो –’लोकतन्त्रको लागि यो अन्तिम आन्दोलन हो । अब अर्को पुस्ताले लोकतन्त्रकै लागि आन्दोलन गरिरहनुपर्ने छैन ।’ हाल प्राप्त उपलब्धि र यसको अभ्यासलाई थप सुदृढ बनाउँदै वर्तमान समयमा देखा परेका असहजता, अप्ठ्यारा, समस्या, गुनासा तथा आम नागरिकका असन्तुष्टिलाई सम्हाल्दै अगाडि बढ्नु नेपाली कांग्रेसको पहिलो प्राथमिकता हो’ खड्काको दस्तावेजमा छ ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
