‘प्रत्येक व्यक्तिको चासो, सरोकार, आवश्यकता र चाहनालाई सम्बोधन गर्न पार्टी प्रतिबद्ध’
उनले स्वास्थ्य शिक्षा जस्ता संविधानमा रहेका अधिकारहरुलाई स्थापित गर्न कांग्रेसले पहलकदमी भूमिका निर्वाह गर्नुपर्ने बताए।
काठमाडाैं, फागुन ७ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रत्येक व्यक्तिको चासो, सरोकार, आवश्यकता र चाहनालाई सम्बोधन गर्न पार्टी प्रतिबद्ध रहने बताएका छन्।
ललितपुरमा जारी कांग्रेसको महासमिति बैठकमा मंगलबार उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नीति प्रतिवेदनमा अबको दिनमा कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूलभूत मान्यताको जगमा आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी ढङ्गले प्रत्येक व्यक्तिको चासो, सरोकार, आवश्यकता र चाहनालाई सम्बोधन गर्न पार्टी प्रतिबद्ध रहने उल्लेख छ।
उनले स्वास्थ्य शिक्षा जस्ता संविधानमा रहेका अधिकारहरुलाई स्थापित गर्न कांग्रेसले पहलकदमी भूमिका निर्वाह गर्नुपर्ने बताए। कांग्रेसको इतिहास र संविधानमा भएको व्यवस्था अनुरूप सार्वजनिक स्थलका अलावा निजी तथा धार्मिक एवं सांस्कृतिक स्थलहरूमा हुने जातीय विभेद अन्त्यका लागि कांग्रेसका सदस्यहरूले आगामी दिनमा नेतृत्वदायी भूमिका निर्माण गर्ने नीति तय गरिने उनले बताए। उनले मधेसी दलित समुदायलाई पार्टीको केन्द्रीय समिति लगायतका राज्यक निकायमा सहभागिता बढाउन उत्प्रेरित गर्ने नीति तय गरिने धारणा राखे।
त्यस्तै नीति प्रतिवेदनमा पार्टी स्थापनाकालदेखि अंगीकार गर्दै आएको विदेश नीतिकाे मार्गनिर्देशक सिद्धान्त तथा बिपी कोइरालाको सरकारले अख्तियार गरेको स्वतन्त्र विदेश नीतिलाई मूलमन्त्र मान्दै कांग्रेसले नेपालको राष्ट्रहित र राष्ट्रिय स्वार्थलाई उच्च प्राथमिकता दिँदै आएको र भविष्यमा पनि यही नीतिलाई निरन्तरता दिने उल्लेख छ।
उपसभापति खड्काले बिपी कोइराला लगायतका संस्थापक नेता र जनताको इच्छा, अपेक्षा र दृढता अनुरुप नयाँ युगले दिने नयाँ नयाँ समस्याको तर्कपूर्ण समाधान खोज्दै सभ्य, सुसंस्कृत तथा समतामूलक नेपाल निर्माणका लागि काँग्रेस प्रतिबद्ध रहेको जिकिर गरे।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
