कोरोनाबाट सात हजारको मृत्यु, ६ हजार सिकिस्त
काठमाडौं, चैत ४ : कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा अझै कमि आउन सकेको छैन। गत २४ घन्टामा मात्रै दुई सय ७१ जनाको मृत्यु भएको छ।
विश्व स्....

काठमाडौं, चैत ४ : कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा अझै कमि आउन सकेको छैन। गत २४ घन्टामा मात्रै दुई सय ७१ जनाको मृत्यु भएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार, मंगलबार बिहानसम्म सात हजार एक सय ७४ जनाको मृत्यु भएको छ। जसमा सबैभन्दा बढी चीनमा रहेका छन्।
मंगलबारसम्म चीनमा तीन हजार दुई सय २६, इटालीमा दुई हजार एक सय ५८, इरानमा आठ सय ५३, स्पेनमा तीन सय ४२, फ्रान्समा एक सय ४८, अमेरिकामा ९३, दक्षिण कोरियामा ८१ र बेलायतमा ५५ जनाको मृत्यु भएको छ।
कोरोना भाइरसको संक्रमणबाट एक लाख ८२ हजार सात सय २३ जना बिरामी परेका छन्। जसमा ७९ हजार आठ सय ८३ जना निको भएर घर फर्केका छन्। अहिले उपचाररत ९५ हजार ६ सय ६६ जनामध्ये ६ हजार एक सय ६३ जना सिकिस्त रहेका छन्। यो करिब ६ प्रतिशत हो।
अझै नयाँ बिरामी देखिने क्रम रोकिएको छै्रन। गत २४ घन्टामा दुई सय ७१ जना नयाँ बिरामी देखिएका छन्। जसमा सबैभन्दा बढी दक्षिण कोरियामा ८४ जना रहेका छन्। त्यस्तै, अमेरिकामा ६२, चीनमा २१, अस्ट्रेलियामा ३९, मेक्सिकोमा २९, भेनेजुअलामा १६ र कम्बोडियमा १२ जना नयाँ बिरामी भेटिएका छन्।
अहिलेसम्म सबैभन्दा बढी संक्रमित चीनमै रहेका छन्। चीनमा ८० हजार आठ सय ८१, इटालीमा २७ हजार नौ सय ८०, इरानमा १४ हजार नौ सय ९१, दक्षिण कोरियामा आठ हजार तीन सय २०, जर्मनीमा सात हजार दुई सय ७२, फ्रान्समा ६ हजार ६ सय ३३, अमेरिकामा चार हजार सात सय २५ र स्वीट्जरल्यान्डमा दुई हजार तीन सय ५३ जना बिरामी रहेका छन्।
यस्तै, बेलायतमा एक हजार पाँच सय ४३, नेदरल्यान्डमा एक हजार चार सय १३, नर्बेमा एक हजार तीन सय ४८, स्वीडेनमा एक हजार एक सय २१, बेल्जियममा एक हजार ५८ र अस्ट्रियामा एक हजार १८ जनामा संक्रमण देखिएको छ। त्यस्तै, छिमेकी राष्ट्र भारतमा एक सय २९ जना संक्रमित रहेका छन्।











