वीरगन्जमा अनिश्चितकालका लागि कर्फ्यु
सूचनामा हिन्दु समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ।
वीरगन्ज, फागुन ७ : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलका लागि कर्फ्यु आदेश जारी गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले एक सूचना जारी गर्दै कर्फ्यु आदेश जारी गरेका हुन्।
सूचनामा हिन्दु समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ। सूचनामा जनाइए अनुसार पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यु आदेश जारी गरिएको छ।
जिल्ला प्रसासनले कर्फ्यु जारी गरेको ठाउँमा हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुने लगायतका उच्छृङ्खल गतिविधि गर्न नपाइने सूचनामा जनाइएको छ।
रौतहटको इसनाथ नगरपालिकामा भएको सरस्वतीकाे मूर्ति सेलाउने विषयमा भएकाे विवादलाई लिएर हिन्दु समाजले वीरगन्जमा प्रदर्शन गर्दै बजार बन्द गराएपछि विवाद उत्पन्न भएको थियो। अवस्था सामान्य बनाउनका लागि कर्फ्यु आदेश जारी गरेको स्थानीय प्रशासनले बताएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
