Kathmandu Press

सञ्चार क्षेत्रका कानुन निर्माण प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा

राष्ट्रिय समाचार समिति (रासस) को ६३औं वार्षिकोत्सवका अवसरमा आज रासस केन्द्रीय कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले सङ्घीयताको भावनासँग अनुकूल हुनेगरी विद्यमान कानुन संशोधन र नयाँ कानुन निर्माण गरिने बताएकी हुन्।
सञ्चार क्षेत्रका कानुन निर्माण प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा

काठमाडौं, फागुन ७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीयताको मर्म र भावनाअनुसार सञ्चार क्षेत्रका कानुन निर्माण सरकारको प्राथमिकतामा रहेको बताएकी छन्।

राष्ट्रिय समाचार समिति (रासस) को ६३औं वार्षिकोत्सवका अवसरमा आज रासस केन्द्रीय कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले सङ्घीयताको भावनासँग अनुकूल हुनेगरी विद्यमान कानुन संशोधन र नयाँ कानुन निर्माण गरिने बताएकी हुन्।

Hardik ivf

'सञ्चारमाध्यमसँग सम्बन्धित सबै सरोकारवालासँग सहकार्य गर्दै सङ्घीयताको मर्म र भावनाअनुरूप स्थानीय तहसम्मै अनुभूति हुनेगरी कानुनमा संशोधन, परिमार्जन एवं नयाँ कानुन बनाई समसामयिक सुधार गर्न सरकार लागिपरेको छ', मन्त्री शर्माले भनिन्, 'सङ्घीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारका क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिएका छौं।'
    
आमसञ्चार क्षेत्रको पुनःसंरचनाका लागि नीतिगत तथा कानुनी सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरेको र सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाई नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको पनि मन्त्री शर्माले बताइन्।
     
पत्रकारिता तथा सञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यावसायिक र जिम्मेवार बनाउने विषयमा सरकार गम्भीर रहेको पनि मन्त्री शर्माले उल्लेख गरिन्। 'नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा वर्तमान सरकार प्रतिबद्ध एवं क्रियाशील छ', उनले भनिन्, 'विगतमा पत्रकारिता क्षेत्रले जनताको राजनीतिक अधिकार प्राप्तिका लागि राजनीतिक दलसँगै रहेर आफ्नो क्षेत्रबाट योगदान गरेको थियो। अब राजनीतिक उपलब्धिको रक्षा र विकास गर्दै जनताको जीवनस्तर रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नु आवश्यक छ।'
     
सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित रहेर जनताको जीवन रुपान्तरणमा सिङ्गो मुलुकलाई एकताबद्ध गरेर लैजाने प्रयास गरिरहेको पनि मन्त्री शर्माले दाबी गर्नुभयो। अहिलेको सरकारले पछिल्लो एक वर्षमा सेवा प्रवाहलाई सरल, कम खर्चिलो र झन्झटमुक्त बनाइएको पनि उनले बताउनुभयो। नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण, सुनको अवैध ओसारपसारलगायत भ्रष्टाचारमा छानविनलाई सहयोग गर्न सरकार दृढ रहेको पनि उनले उल्लेख गर्नुभयो।  

'अनुचित लेनदेनसम्बन्धी कारोबारको अन्त्यलगायत सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण काम भएका छन्। अब सरकारले समृद्धिका क्षेत्रमा देखिने गरी काम अघि बढाउन खोजिरहेको छ', शर्माले भनिन्, 'कृषि, पर्यटन, जलस्रोत र सूचना प्रविधिलगायत क्षेत्रमा लगानी केन्द्रित गरेर आर्थिक समृद्धिको ढोका खोल्न सकिन्छ भन्नेमा सरकार विश्वस्त छ।'

राज्य र जनताकाबीचमा पुलको भूमिका निर्वाह गर्ने सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरिन्। राससले गुणस्तरीय सामग्री उत्पादनमा जोड दिएर देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत विश्वका अन्य समाचार एजेन्सीसँगको प्रतिस्पर्धा गर्नसक्नुपर्ने बताइन्। अहिलेको डिजिटल युगमा आफूलाई समयनुकूल परिवर्तन गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्नुपर्ने उनले उल्लेख गरिन्। यस कार्यमा मन्त्रालयकोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्ने पनि उनले बताइन्।

'राससलाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउन श्रव्यदृश्य समाचार सेवालाई प्राथमिकता दिई यसका लागि आवश्यक जनशक्तिलाई तालिमको व्यवस्थापनका साथै आवश्यक साधनस्रोत र कर्मचारीको वृत्तिविकासमा सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाउन चाहन्छु', उनले भनिन्, 'आफ्नो व्यावसायिक क्षमता अभिवृद्धि गर्दै आत्मनिर्भर बन्नेतर्फ पनि व्यवस्थापनसहितको रासस परिवारले विशेष ध्यान दिन आग्रह गर्दछु।'

प्रकाशित मिति: १५:२५ बजे, सोमबार, फागुन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्