आर्यन दत्तको घातक बलिङमा नामिबियामाथि नेदरल्यान्ड्सको सहज जित
कीर्तिपुरस्थित टियू मैदानमा जारी पहिलो त्रिकोणात्मक सिरिज अन्तर्गत सोमबार भएको खेलमा आर्यन दत्तले घातक बलिङ गरेपछि नेदरल्यान्ड्सले नामिबयामाथि ७ विकेटको जित निकाल्यो।काठमाडाैं, फागुन ७ : आईसिसी विश्वकप लिग–२मा नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी पहिलो त्रिकोणात्मक सिरिज अन्तर्गत सोमबार भएको खेलमा आर्यन दत्तले घातक बलिङ गरेपछि नेदरल्यान्ड्सले नामिबयामाथि ७ विकेटको जित निकाल्यो।
नामिबियाले दिएको १२४ रनको झिनो लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। उसका लागि ओपनर मिचेल लेविटले अर्धशतक बनाए। उलने ८१ बलमा ८ चौका र २ छक्का मद्दतमा ५७ रन बनाए। यस्तै, म्याक्स ओ’डोडले २८ र बास डे लिडले २१ रन बनाए।
बलिङमा नामिबियाका लागि तीनै विकेट गेर्हार्ड इरास्मसले लिए। उनले ७ ओभरमा १३ रन मात्र खर्चिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया दत्तको घातक बलिङपछि ३५.१ ओभरमा १२३ रनमै अलआउट भयो। उसको तल्लो क्रमले केही साझेदारी गरेपछि उसले सय रनको आँकटा पार गरेको हो।
नामिबियाका लागि जेजे स्मिथले सर्वाधिक २६ रन बनाउँदा रुबेन त्रुम्पेलमनले २०, जान ग्रीनले १९ तथा निकोलस डाविन र मिचेल भान लिन्गेनले समान १३ रन बनाए।
नामिबियाको इनिङ ध्वस्त बनाउने क्रममा आर्यन दत्तले ९ ओभरमा ३४ रन खर्चेर ६ विकेट लिए। उनी नेदरल्यान्डका लागि एकदिवसीयमा ६ विकेट लिने पहिलो बलर पनि बनेका छन् । यस्तै, कायल क्लेइनले २ विकेट लिए।
जारी सिरिजमा पहिलो खेलमा नेदरल्यान्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो। यता, नामिबियाको भने यो पहिले हार हो । उसले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो।