Kathmandu Press

महामन्त्रीको प्रतिवेदन संशोधनसहित पेस हुन्छ : मीन विश्वकर्मा

‘साझा डकुमेन्ट आउँछ। संशोधन भएर आउँछ, महामन्त्रीज्यू कतिपय विषय संशोधन गर्न तयार हुनुहुन्छ।’
महामन्त्रीको प्रतिवेदन संशोधनसहित पेस हुन्छ : मीन विश्वकर्मा
Hardik ivf

काठमाडौं, फागुन ७ : नेपाली कांग्रेसको महासमिति बैठकका लागि कांग्रेस नेताहरु गोदावरीमा भेला भएका छन्। दुई हजारबढी प्रतिनिधि एवं नेता सहभागी बैठककाे पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्। 
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेस गर्नेछन्। त्यसैगरी प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्नेछन्। सबै प्रतिवेदनमाथि समूहगत रूपमा छलफल गरिनेछ।

महामन्त्री थापाको प्रतिवेदन संशाेधनको विषयमा विभिन्न चर्चा चलिरहेकाे छ। थापाले प्रस्ताव संशाेधन नहुने बताइरहेका बेला संस्थापन पक्षका नेताहरुले भने संशाेधनकाे सहमति भइसकेकाे दाबी गरेका छन्। आज बिहान सभापति देउवा निवास बुढानीलकण्ठमा पदाधिकारीसहित बसेको बैठकमा महामन्त्री थापाको प्रतिवेदनको कतिपय विषय संशोधन गर्न तयार रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दाबी गरे। उनले भने, ‘साझा डकुमेन्ट आउँछ। संशोधन भएर आउँछ, महामन्त्रीज्यू कतिपय विषय संशोधन गर्न तयार हुनुहुन्छ।’ सहमति जुटेसँगै महासमिति बैठकका लागि नेताहरू गोदावरीमा जम्मा भएकाे उनले बताए।

महामन्त्री थापाले प्रतिवेदनमा राखेका केही विषयप्रति सभापति देउवा असन्तुष्ट थिए। विशेषगरी गठबन्धन, राष्ट्रियसभा निर्वाचन र विधानबारे थापाले प्रतिवेदनमा राखेका विषयमा देउवाको असन्तुष्टि थियो। छलफलपछि एक किसिमकाे सहमति बनेकाे र साेहीबमाेजिम प्रतिवेदन पेस हुने बताइएकाे छ। 

प्रकाशित मिति: १३:५१ बजे, सोमबार, फागुन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्