Kathmandu Press

कांग्रेस महासमिति बैठककाे सबै तयारी अन्तिम चरणमा

कांग्रेस महासमिति बैठककाे सबै तयारी अन्तिम चरणमा

काठमाडाैं, फागुन ६ : नेपाली कांग्रेसले सोमबारबाट सुरु हुने महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

कांग्रेस सूचना, सञ्चार तथा प्रचार बिभागले आइतबार महासमिति बैठक स्थल ललितपुरको गोदावरीमा पत्रकार सम्मेलन गर्दै बैठकका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। महासमिति बैठकको मुख्य कार्य पार्टीको नीति निर्माण गर्नु रहेको कांग्रेसले जनाएको छ। महासमितिको सोमबार दिउँसो पार्टी सभापतिले उद्घाटन गर्ने कार्यक्रम रहको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

Hardik ivf

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रतिवेदन पेस गर्ने उनले बताए। त्यस्तै लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्ने विश्वकर्माले जानकारी दिए।

बैठकमा १६५ केन्द्रीय सदस्य, हरेक निर्वाचन क्षेत्रबाट एक हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्ष महासमिति बैठकमा सहभागी हुने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए।

बैठकका लागि करिव दुई करोडसम्म खर्च हुने अनुमान गरिएको उनले बताए। राजनीतिक स्थायीत्व, रुपान्तरण र नवीनता, स्वतन्त्रता न्याय र समानता भन्ने मूल नाराका साथ सोमबाट सुरु हुने महासमिति बैठक फागुन १० गतेसम्म चल्ने कांग्रेसले जनाएको छ। 

प्रकाशित मिति: १७:१९ बजे, आइतबार, फागुन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्