कोरोना भाइरसको आश्चर्यजनक तथ्य: बालबालिकामा कम प्रभाव, वृद्धहरूको मृत्युदर उच्च
चीनमा संक्रमितमध्ये २.४ प्रतिशत बालबालिका थिए। तीमध्ये ०.२ प्रतिशत मात्रै गम्भीर बिरामी परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। कोभिड १९ ले कुनै बालबालिकाको ज्यान नगएक....
चीनमा संक्रमितमध्ये २.४ प्रतिशत बालबालिका थिए। तीमध्ये ०.२ प्रतिशत मात्रै गम्भीर बिरामी परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। कोभिड १९ ले कुनै बालबालिकाको ज्यान नगएको चीनले जनाएको छ।
विश्व स्वास्थ्य संगठनले चीनमा ८० वर्षभन्दा बढी उमेरका व्यक्तिको मृत्युदर २१.९ प्रतिशत रहेको अनुमान गरेको छ। ४४,६७२ जना बिरामीको बेग्लै अध्ययनले १० देखि ३९ वर्ष उमेर समूहको मृत्युदर भने करिब ०.२ प्रतिशत रहेको देखाउँछ। अझ कम उमेरका बालबालिकाको मृत्युदर र गम्भीर लक्षण त शून्यप्राय नै भएको देखिएको छ।
यसको अर्थ हो नयाँ कोरोना भाइरस अन्य भाइरसभन्दा भिन्न छ। मौसमी रूघाखोकी कम र बढी उमेरका व्यक्तिका लागि निकै खतरनाक हुन्छ।
“श्वासप्रश्वाससम्बन्धी यस्तको संक्रमणमा प्राय: यु आकारको वक्र देखिन्छ। त्यसको एकछेउमा बालबालिका हुन्छन् किनभने उनीहरूको रोग प्रतिरोधी क्षमता विकसित भएको हुँदैन। अर्को छेउमा वृद्ध हुन्छन् किनभने उनीहरूको रोग प्रतिरोधी क्षमता कमजोर बन्दै गएको हुन्छ। यो भाइरसको सवालमा त्यो यु वक्रको एक छेउ नै हराएको छ,” टेक्सास विश्वविद्यालयको मेडिकल शाखाका भाइरोलोजिस्ट विनित मिनाचारीले भने।
नयाँ कोरोना भाइरसबाट बालबालिका किन प्रभावित भएनन् भन्ने बुझ्न सके भाइरसले अन्य उमेर समूहलाई किन बिरामी बनाउँछ र उनीहरूको ज्यान लिन्छ बुझ्न सकिने क्लिभल्यान्ड क्लिनिक चिल्ड्रेनका बालरोग विशेषज्ञ फ्र्याङ्क एस्परले बताए।
एस्पर र अन्यले केही प्रश्नका उत्तर खोजिरहेका छन् पहिले कुनै समस्या भएका बिरामी गम्भीर संक्रमण हुन्छ? उमेरसँगै परिवर्तन हुने रोग प्रतिरोधात्मक प्रणालीसँग कुनै सम्बन्ध छ कि? प्रदुषणले वर्षौंसम्म फोक्सोमा पारेको क्षतिको केही भूमिका छ? “वा भाइरसको कुनै भूमिका नहुन पनि सक्छ।
संक्रमितको फोक्सो सम्बन्धी समस्या, मधुमेह वा उच्च रक्तचाप जस्ता अन्तर्निहित समस्याले पनि यस्तो भएको हुनसक्छ,” श्वाशप्रश्वाससम्बन्धी भाइरल संक्रमण र नयाँ रोगको अध्ययन गर्ने एस्परले भने।
कोरोना भाइरसका अघिल्ला महामारीले पनि बालबालिकालाई खासै प्रभाव पारेन। यो रहस्य नै छ। सन् २००२ मा ७७४ जनाको ज्यान लिएको सार्सले कुनै बालबालिकाको ज्यान लिएन। सन् २०१२ यता ८५८ जनाको ज्यान लिएको मर्स कोरोनाभाइरसको लक्षण थोरै बालबालिकामा मात्रै देखियो।
कारण पत्ता लगाउन मिनाचारीले टेक्सासस्थित प्रयोगशालामा मूसालाई सार्स दिइरहेका छन्। सार्स नयाँ कोरोनाभाइरसको नजिकको प्रजाति हो। मूसाका बच्चाले संक्रमणलाई जितिरहेका छन् भने अन्यको फोक्सो र शरीर रोगले थलिएको छ।
मुसाको मृत्युमा कमजोर रोग प्रतिरोधात्मक प्रणालीमात्रै नभएर सार्स कोरोना भाइरसप्रति प्रणालीको “ओभररियाक्सन” बाट हुने “डिसरेगुलेसन” पनि भएको मिनाचारीले पत्ता लगाएका छन्। मानिसको मृत्यु पनि सार्स कोभ २ नामक यस्तै अवस्थामा हुन्छ।
“संक्रमण आफैंबाट भन्दा उनीहरूको प्रतिरोधात्मक प्रणालीबाट हुने आक्रामक प्रतिक्रियाले उनीहरूलाई क्षति पुर्याइरहेको छ,” मिनाचारीले भने,'तर उनी लगायत कसैले पनि मूसाका बच्चा संक्रमणबाट कसरी बचे भन्ने रहस्योद्घाटन गर्न सकेका छैनन्।'
केही विशेषज्ञले एउटा सिद्धान्त परिकल्पना गरेका छन्। प्रत्येक वर्ष फैलिने चार अन्य कोरोना भाइरसले रूघा लाग्छ। अत्यधिक “एक्सपोज” हुने भएकाले बालबालिकाको प्रतिरोधी क्षमता बढ्ने उनीहरूको अनुमान छ। तर अन्य धेरैले यसमा शंका गरेका छन्।
वयस्कलाई पनि रूघाको कोरोना भाइरसले प्रभावित पार्छ। विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको रोग प्रतिरोधात्मक प्रणाली विकसित भएको हुँदैन। उल्टो उनीहरू बढी जोखिममा हुनुपर्ने हो।
“हामी भाइरसबारे कति अनभिज्ञ छौं भन्ने देखिन्छ,” युनिभर्सिटी अफ म्यारील्यान्ड स्कूल अफ मेडिसिनका भाइरोलोजिस्ट स्टुआर्ट वेस्टनले भने। उनले नयाँ कोरोना भाइरसको उपचारमा सहयोग पुग्नसक्ने एन्टि भाइरल औषधिको परीक्षण गरिरहेका छन्। खोप र उपचारमा सबै केन्द्रित छन्। तर यी कोरोनाभाइरसले कसरी काम गर्छ भन्ने साँच्चिकै बुझ्न चाहन्छौं भने धेरै प्रश्नहरूको उत्तर पाउनुपर्छ।
त्यसो भए स्कूल बन्द गर्नु कति उपयुक्त होला?
बालबालिकामा थोरै मात्र संक्रमण देखिएकाले उनीहरू संक्रमित सम्भावना कम भएको अनुमान गरिएको छ।
बालबालिकामा देखिने सामान्य लक्षणले उनीहरू पनि वयस्क जत्तिकै संक्रमित भइरहेको तथ्य लुकाइरहेको हुनसक्ने धेरै एपिडेमियोलोजिस्टको शंका छ।
चिनियाँ अनुसन्धाताले अघिल्लो साता सार्वजनिक गरेको नयाँ डाटा अनुसार लक्षणका आधारमा कोरोना भाइरस संक्रमित खोजिरहेका अधिकारीले बालबालिकामा न्यून संक्रमण दर देखे। तर “कन्ट्याक्ट ट्रेसिङ” संक्रमितसँग सम्पर्कमा आउने व्यक्तिको परीक्षण आधारमा बालबालिका पनि वयस्क सरह नै समान दरमै संक्रमित भइरहेको देखिएको छ।
“महाव्याधिको अनुसन्धानबाट विद्यालय बन्द गर्नु संक्रमण फैलन रोकथाम गर्ने प्रभावकारी उपाय भएको हामीलाई थाहा छ किनभने बालबालिकाले संक्रमण फैलाउँछन्। आमाबाबु, नातेदार र समग्र समुदायलाई उनीहरूले रोग सार्छन्” जोन हप्किन्स सेन्टर फरु हेल्थ सेक्युरिटीका एक एपिडेमियोलोजिस्ट क्याटलिन रिभर्सले भने।
वाशिंगटन पोस्ट