‘एमालेकाे मध्यपहाडी लोकमार्गमा गरेको संकल्प यात्रामाकहीँ न कहीँ म छु’
एमाले सांसद कृष्णगोपाल श्रेष्ठले संकल्प यात्रापछि आफूहरूले बुझाएको ७७२ बुँदे सुझावको कार्यान्वयनबारे प्रश्न उठाएका थिए।
काठमाडौं, फागुन ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेले मध्यपहाडी लोकमार्गमा गरेको संकल्प यात्रामा आफ्नो पनि स्वामित्व भएको बताएका छन्।
प्रतिनिधिसभाको आइतबारकाे बैठकमा सांसदहरूले साेधेका प्रश्नहरकाे जवाफ दिने क्रममा उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा रेखांकन भएको लोकमार्गमा एमालेले संकल्प यात्रा गर्नाले स्वामित्व स्थापित हुने जिकिर गरेका हुन्।
एमाले सांसद कृष्णगोपाल श्रेष्ठले संकल्प यात्रापछि आफूहरूले बुझाएको ७७२ बुँदे सुझावको कार्यान्वयनबारे प्रश्न उठाएका थिए।
'प्रतिवेदन बुझ्दै मैले मेरो पनि केही न केही स्वामित्व छ भनेको थिए,' उनले भने, 'यातायात सञ्जाललाई जोडेर आर्थिक-सामाजिक-सांस्कृतिक सन्तुलित विकास गर्ने मध्यपहाडी लोकमार्ग निर्माण गर्नुपर्छ भनेर मेरो पहिलो कार्यकालमा रेखांकन प्रस्ताव पारित गरिएको थियो। एमाले नेतृत्वको यात्रामा कहीँ न कहीँ म छु भन्ने हो।'
गेम चेन्जर आयोजना बनाउन १० वटा नयाँ सहर निर्माणदेखि आर्थिक, सामाजिक, पर्यटकीय, शैक्षिक, कृषिलगायत क्षेत्रको विकासमा आफू जुटिरहेकाे उनकाे भनाइ थियाे। यी विषयहरू आगामी वर्षको नीति कार्यक्रम र बजेटमा पनि समावेश गरिने प्रतिबद्धता उनले व्यक्त गरे। एमालेले बुझाएका प्रतिवेदनबारे एमालेका विष्णु पौडेलसँग छलफल गरेको र त्यसबारे सरकार यो विषयमा गम्भीर रहेकाे उनले बताए।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
