‘कर्णाली प्रदेशले न्याय पाउने केही थप आयोजना तर्जुमा गर्न सरकारले छलफल गरिरहेकाे छ’
कर्णाली क्षेत्रमा जलस्रोतको अपार सम्भावना रहेको तथ्यलाई आत्मसात् गर्दै त्यहाँको जलविद्युतमा निजी क्षेत्र तथा सरकारको लगानी अगाडि बढाउने प्रयासस्वरूप लम्की-फुकोट ४०० केभी प्रसारणलाइन हाल निर्माणको चरणमा रहेको बताए।
काठमाडौं, फागुन ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमा कर्णाली प्रदेशले न्याय पाउने केही थप आयोजना तर्जुमा गर्न सरकारले छलफल थालेकाे बताएका छन्।
प्रतिनिधिसभाकाे आइतबार बसेकाे बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले नेपालको राजनीतिक परिवर्तनमा कर्णालीको योगदान तथा यसले लामो समयसम्म केन्द्रीय एकात्मक राज्यसत्ताबाट बेहोरेको उपेक्षा र विभेदबारे सरकार जानकार रहेको बताए।
उनले कर्णाली क्षेत्रमा जलस्रोतको अपार सम्भावना रहेको तथ्यलाई आत्मसात् गर्दै त्यहाँको जलविद्युतमा निजी क्षेत्र तथा सरकारको लगानी अगाडि बढाउने प्रयासस्वरूप लम्की-फुकोट ४०० केभी प्रसारणलाइन हाल निर्माणको चरणमा रहेको बताए।
उनले जुम्ला विमानस्थलको रनवे विस्तारका निम्ति जग्गा अधिग्रहणलगायत स्तरोन्नतिको कार्य अगाडि बढाइएको बताए। भेरी करिडोरमा उच्च क्षमताका प्रसारणलाइन तथा फुकोट–हुम्ला उच्च क्षमताको विद्युत् प्रसारणलाइन निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको, १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउने तयारी, ४१८ मेगावाट क्षमताको कर्णाली–फुकोट, १,०९२ मेगावाट क्षमताको मुगु–कर्णाली सरकारी कम्पनीमार्फत अगाडि बढाइएको जानकारी दिए।
नाप्चा–गमगढी–नाक्चेलाग्ना सडकका लागि पनि चालु आर्थिक वर्षमा उच्च प्राथमिकतामा बजेट विनियोजन गरिएको उनकाे भनाइ थियाे। कर्णाली राजमार्ग र प्रदेशका अरू राजमार्गमा समेत सडक सुरक्षाको प्रबन्ध गरी ‘रोड क्रस ब्यारिएर’ राख्ने काम भएको उनले जानकारी दिए।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
