आन्तरिक उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिइएकाे छ : प्रधानमन्त्री
उनले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न आन्तरिक रोजगारी प्रवर्द्धन दशक अभियानको तयारी भइरहेकाे जानकारी दिए।
काठमाडौं, फागुन ६ : प्रधानमन्त्री पुष्पकमल दाहालले देशभित्र रोजगारीका अवसर सिर्जना गर्न सरकारले विभिन्न योजना अगाडि सारेकाे बताएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमअन्तर्गत सांदहरूले गरेका प्रश्नको जवाफ दिने क्रममा उनले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न आन्तरिक रोजगारी प्रवर्द्धन दशक अभियानको तयारी भइरहेकाे जानकारी दिए।
'अहिले अर्थतन्त्रका प्रायः बाह्य सूचकहरू सकारात्मक छन् तर अर्थतन्त्रमा दबाब र चाप भने अहिले पनि कायम नै छ। अर्थतन्त्रमा देखा परेका चुनौती हल गर्दै समष्टिगत आर्थिक स्थायित्वमार्फत देशभित्रै आय र रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ,' एमाले सांसद किरणकुमार साहले गरेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले भने, 'सरकारले आन्तरिक उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको छ। देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न आन्तरिक रोजगारी प्रवर्धन दशक अभियानको तयारी सरकारले गरिरहेको छ।'
दाहालले सरकारले उत्पादनमूलक क्षेत्रमा प्राथमिकताका साथि लगानी वृद्धि गरी स्वदेशी श्रमको स्वदेशमा नै उपयोग गर्न, सीप विकास तथा रोजगारी सूचना प्रवाहमा स्थानीय तहको सहभागिता वृद्धि गर्ने कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाउन लागेको जानकारी दिएका हुन्।
दक्ष जनशक्ति उत्पादनका लागि राष्ट्रिय व्यवसायी प्रशिक्षण प्रतिष्ठान गठन गरिए र स्वरोजगार प्रवर्धनका लागि स्टार्टअपलाई सार्वजनिक निजी साझेदारीको अवधारणाअनुरूप राष्ट्रिय अभियानकै रूपमा अगाडि बढाइने उनकाे भनाइ थियाे।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
