Kathmandu Press

‘बालबालिकाको क्यान्सर चाँडै निको हुन्छ’

उमेर पुगेका मानिसको तुलनामा बालबालिकामा देखिएको क्यान्सर समयमा उपचार गरे निको हुने सम्भावना धेरै रहेको चिकित्सकको भनाइ छ।
‘बालबालिकाको क्यान्सर चाँडै निको हुन्छ’

काठमाडौं, फागुन ५ : बालबालिकामा हुने क्यान्सरको समयमा नै उपचार गरे चाँडै निको चिकित्सकले बताएका छन्। उमेर पुगेका मानिसको तुलनामा बालबालिकामा देखिएको क्यान्सर समयमा उपचार गरे निको हुने सम्भावना धेरै रहेको चिकित्सकको भनाइ छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल रोग तथा क्यान्सर रोग विशेषज्ञ डा सूचारिका तण्डुकारले बढी उमेर भएका क्यान्सर रोगीको तुलनामा बालबालिकामा हुने क्यान्सरको समयमा उपचार गर्दा निको हुने सम्भावना धेरै रहेको बताए। 'वयस्क व्यक्तिमा क्यान्सरसँगै अन्य रोग पनि देखिन्छ', उनले भने, 'क्यान्सर भएका बालबालिकामा अन्य रोगको सम्भावना कम हुने भएकाले समयमा उपचार गराउँदा निको हुने सम्भावना पनि धेरै हुन्छ।'

Hardik ivf

डा. तण्डुकारका अनुसार नेपालमा उपचारको पहुँच नहुँदा धेरै बालबालिकाको क्यान्सरका कारण अकालमा मृत्यु हुने गरेको छ। वार्षिक करिब एक हजारसम्म बालबालिकाले क्यान्सरको उपचार गर्नुपर्नेमा अहिले पाँच सयले मात्र उपचार गरिरहेका उनले जानकारी दिए। 

भक्तपुर क्यान्सर अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा ऋतु सापकोटाले मुलुकमा बालबालिकामा देखिएको क्यान्सर ३० प्रतिशत निको हुने गरेको बताए। 'समयमै अस्पताल पुग्न नसक्दा पूर्ण उपचार नपाएर करिब ७० प्रतिशतमा पूर्ण निको हुँदैन', उनले भने। उनका अनुसार नेपालजस्तो अल्पविकसित मुलुकमा बालबालिकामा हुने क्यान्सर निको हुने दर कम रहेको छ। 

विकसित देशमा ८० देखि ९० प्रतिशत बाल क्यान्सर निको पार्न सकिने डा. सापकोटाले जानकारी दिए। गरिबी, उपचारमा कम पहुँच हुनुलगायत कारणले उपचारमा समस्या भइरहेको उनको भनाइ थियो।

डा. सापकोटाले वयस्क मानिसलाई क्यान्सरसँगै अन्य रोग पनि देखिने भएकाले निको हुने सम्भावना कम हुने बताए। 'बालबालिकामा अन्य कुनै रोगको लक्षण हुँदैन। त्यसैले क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ', उनले भने, 'उमेर पुगेका मानिसमा उच्च रक्तचाप, मधुमेहलगायत अन्य रोग देखिने भएकाले क्यान्सर निको हुने सम्भावना कम हुन्छ।'

नेपालमा क्यान्सर बिरामी बालबालिकामध्ये सन् २०३० सम्म ६० प्रतिशतलाई निको गराउने सरकारी लक्ष्य रहेको भक्तपुर क्यान्सर अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा  सापकोटाले जानकारी दिए। उनले मुलुकमा बालबालिकामा हुने ब्लड क्यान्सर ९० प्रतिशत निको भइरहेको उल्लेख गरे।

डा. सापकोटाका अनुसार बालबालिकलाई ब्लड क्यान्सर, आँखामा हुने क्यान्सर, कलेजो, हड्डी र मांसपेशीको क्यान्सर धेरै हुने गरेको छ। 'बालबालिकामा १० प्रतिशत वंशानुगत गुणबाट र ९० प्रतिशत जिनको खराबीका कारण क्यान्सर हुने गर्दछ। जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई बढी क्यान्सर लाग्ने जोखिम रहन्छ', उनले भने। 
 
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला मेमोरियल, भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पतालमा बाल क्यान्सरको उपचार हुने गरेको छ।

प्रकाशित मिति: १२:२८ बजे, शनिबार, फागुन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्