विश्वविद्यालयको शिक्षा युवा पलायन रोक्ने हुनुपर्छ : मुख्यमन्त्री पाण्डे
शिक्षा क्षेत्रमा राजनीतिकरण हुन नहुने उल्लेख गर्दै उनले यसका लागि सबै इमान्दार बन्नुपर्नेमा जोड दिए।
गण्डकी, फागुन ५ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वविद्यालयले दिने शिक्षा बढ्दो युवा विदेश पलायनलाई रोक्ने हुनुपर्ने बताए।
गण्डकी विश्वविद्यालयको चौथो वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री पाण्डेले देशको जनशक्ति विदेश पलायन हुने क्रम बढिरहेको बताए।
विश्वविद्यालयले विद्यार्थीको विश्वास जित्न नसकेको उनको भनाइ थियो। शिक्षा क्षेत्रमा राजनीतिकरण हुन नहुने उल्लेख गर्दै उनले यसका लागि सबै इमान्दार बन्नुपर्नेमा जोड दिए।
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले युवा पलायनसँगै घरवार, संस्कृतिका साथै पूँजी पलायन भइरहेका कारण यसबारे गम्भीर बन्नुपर्ने बताए। गण्डकी विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त राख्दै अनुसन्धान एवम् रोजगारमुलक शिक्षामा जोड दिनुपर्ने उनको भनाइ थियो।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वविद्यालयको अभावका कारण नभइ प्रदेश एवम् देशको आवश्यकता अनुसारको शिक्षा दिने सोचका साथ गण्डकी विश्वविद्यालय स्थापना भएको स्पष्ट पारे।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले विश्वविद्यालयले देशका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्ने किसिमले त्यही किसिमका पाठ्यक्रम पढाउँदै अध्ययन अनुसन्धानमा जोड दिएको बताए।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
