भाषाविद् बालकृष्ण पोखरेलको निधन
विराटनगर, फागुन १२ : भाषाविद् एवं वरिष्ठ साहित्यकार प्रा. बालकृष्ण पोखरेलको आज बिहान ८६ वर्षको उमेरमा निधन भएको छ ।
एक महिनादेखि अस्वथ्य पोख....
विराटनगर, फागुन १२ : भाषाविद् एवं वरिष्ठ साहित्यकार प्रा. बालकृष्ण पोखरेलको आज बिहान ८६ वर्षको उमेरमा निधन भएको छ ।
एक महिनादेखि अस्वथ्य पोखरेलको आईतबार बिहान १ बजे निधन भएको परिवारजनले जनाएका छन् । उनको विराटनगर–८ कलेज रोडस्थित आफ्नै निवासमा निधन भएको हो ।
प्रा.पोखरेल मस्तिष्कघातबाट पीडित थिए । शनिबार एकाएक रक्तचाप घटेपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममै आज बिहान निधन भएको हो ।
युवा अवस्थामा पत्नी शान्ता पाेखरेलसँगै प्रा.बालकृष्ण पोखरेल ।
प्रा.पोखरेलका एकसय १५ कृति प्रकाशित छन् । खस जातिको इतिहास, १०० वर्ष र नेपाली वृहत् शव्दकोषलगायत उनले चर्चित कृतिको रचना गरेका छन् ।
उनको जन्म वि.सं. १९९० भाद्र कृष्ण अष्टमीका दिन मकवानपुरको चिसापानीगढीमा भएको थियो । आमा कृष्णछायाँदेवी पोखरेल र बुवा सुब्बा शारदा पोखरेलका सुपुत्र पोखरेल नेपाली बाङमयका प्रतिष्ठित साधक हुन् ।
उनी रूपावासी, वसन्त, वत्सल, इसावापुर, लक्ष्मीविलास, पोखरेल, गढतिरे साँहिलो, हिमालपाने बराल आदिजस्ता उपनामबाट नेपाली साहित्य जगतमा परिचित छन् ।
उनले कलकत्ता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका थिए । २०२७ देखि २०३६ सम्म महेन्द्र मोरङ र त्यसपछि स्नातकोत्तर क्याम्पसमा प्राध्यापन गरेका उनले २०४६ मा अवकाश लिएका थिए ।
प्रा.पोखरेल २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य रहेका थिए ।
उनका एक छोरा र दुई छोरी छन् । प्रा.पोखरेलको आजै स्थानीय परोपकार घाटमा दाहसंस्कार गरिने परिवारजनले बताएका छन् ।






